Bizshala
  • आईतवार, भाद्र १४,२०८३ 10:47:32
Bizshala
Global IME Bank Limited

सुरुङभित्र समयसँग जीवनको लडाइँ, चिलिमेबाट दुई शव निकालिए

बाढीको चौथो दिनसम्म ११ जलविद्युत् आयोजनाका ८९८ जना सम्पर्कविहीन; उद्धारमा ढिलाइ भएको निजी क्षेत्रको आरोप

सुरुङभित्र समयसँग जीवनको लडाइँ, चिलिमेबाट दुई शव निकालिए
New Office

काठमाडौँ। भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीको चौथो दिन चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट दुईवटा शव निकालिएका छन्। भारतबाट आएको सुरुङ उद्धार विज्ञ टोली र नेपाली सेनाले आइतबार सुरु गरेको संयुक्त खोजका क्रममा सुरुङको करिब १०० मिटरभित्र शव फेला पारेका हुन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार २५० मिटर लामो सुरुङमा संयुक्त टोली १०० मिटरभित्रसम्म पुगेको छ। त्यहाँसम्म जीवित व्यक्ति फेला नपरे पनि सुरुङको बाँकी भागमा खोजी जारी छ। आयोजनाले सुरुङमा ६ कर्मचारी फसेको अनुमान गरेको छ।

चिलिमेबाट दुई शव निकालिँदा बाढी प्रभावित जलविद्युत् आयोजनाहरूमा बेपत्ताको अवस्था अझै भयावह देखिएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार रसुवा र नुवाकोटका ११ आयोजनामा कार्यरत ८९८ प्राविधिक, कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन छन्। उनीहरूमध्ये ठूलो संख्या सुरुङ वा पावरहाउसभित्र फसेको आशंका छ।

Bizshala
CG Motors

सबैभन्दा गम्भीर अवस्था २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ मा छ। इप्पानका अनुसार त्यहाँ ५७६ जना सम्पर्कविहीन देखिएका छन् भने करिब ३०० जना सुरुङभित्र फसेको अनुमान छ। रसुवागढीमा ९३, लाङटाङ खोलामा ४२, चिलिमेमा आठ, मैलुङ खोलामा सात र रसुवा-भोटेकोशीमा चार जना सम्पर्कविहीन छन्।

नुवाकोटतर्फ माथिल्लो त्रिशूली-३ ‘बी’मा १२२, त्रिशूली–३ ‘ए’मा ४२ तथा अन्य तीन आयोजनामा चार जना सम्पर्कबाहिर रहेको इप्पानको विवरण छ। यद्यपि केही आयोजनाले उपलब्ध गराएका तथ्यांक र इप्पानको विवरणबीच भिन्नता देखिएकाले यकिन संख्या अझै स्पष्ट हुन सकेको छैन।

ढिलो खुल्यो विदेशी विज्ञको ढोका

सुरुङ उद्धारजस्तो विशिष्ट प्राविधिक काममा तत्काल विदेशी सहायता नलिँदा खोज तथा उद्धारमा ढिलाइ भएको निजी ऊर्जा उत्पादकहरूको आरोप छ। इप्पान अध्यक्ष मोहनकुमार डाँगीले सरकारले समयमै चीन, भारत र सम्बन्धित आयोजनाका विदेशी प्राविधिकलाई परिचालन गर्न दिएको भए धेरैलाई जीवितै निकाल्न सकिने सम्भावना रहेको बताए।

उनका अनुसार माथिल्लो त्रिशूली–१ को साढे नौ किलोमिटर लामो सुरुङमा छवटा सहायक ‘अडिट टनेल’ छन्। तीमध्ये अधिकांश खुला रहेकाले हावा आवतजावत हुन सक्ने र भित्र फसेकाहरूलाई अझै जीवित उद्धार गर्ने सम्भावना समाप्त नभएको उनको भनाइ छ।

चौतर्फी दबाबपछि अहिले चीन र भारतका विज्ञ टोली परिचालन भएका छन्। भारतीय टोलीले चिलिमेमा नेपाली सेनासँग मिलेर काम गरिरहेको छ भने चिनियाँ विज्ञ माथिल्लो त्रिशूली-१ र त्रिशूली-३ ‘बी’ क्षेत्रमा खटिएका छन्। त्रिशूली-३ ‘ए’मा नेपाली सेनासहित ९३ जनाको टोली परिचालित छ।

सेनाका अनुसार अहिले चिलिमे, माथिल्लो त्रिशूली-१, त्रिशूली-३ ‘ए’ र त्रिशूली–३ ‘बी’ गरी चार आयोजनामा अवरुद्ध सुरुङ खोलेर खोजी तथा उद्धारको प्रयास भइरहेको छ। प्रतिकूल मौसम, अवरुद्ध पहुँचमार्ग र जोखिमपूर्ण भूगोलले काम कठिन बनाएको छ।

बाढीको चौथो दिन बित्दै गर्दा सुरुङभित्र फसेकाहरूका लागि प्रत्येक घण्टा निर्णायक बन्दै गएको छ। चिलिमेबाट दुई शव निकालिएको घटनाले उद्धार संयन्त्रसामु कठोर प्रश्न उभ्याएको छ-विदेशी प्राविधिक सहयोगको ढोका समयमै खोलिएको भए परिणाम फरक हुन सक्थ्यो कि ?

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.