काठमाण्डौ । अमेरिकाले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकका लागि ट्राभल एड्भाइजरी अद्यावधिक गर्दै बाढीबाट गम्भीर प्रभावित रसुवाको रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र तथा नेपाल–चीन सीमा नाकातर्फ कुनै पनि कारणले यात्रा नगर्न चेतावनी दिएको छ।
अमेरिकी विदेश मन्त्रालयले अगस्ट ३० मा अद्यावधिक गरेको एड्भाइजरीमा उक्त क्षेत्रलाई ‘लेभल–४ : डु नट ट्राभल’ अर्थात् ‘यात्रा नगर्नुहोस्’ श्रेणीमा राखिएको छ। सडक तथा सञ्चार प्रणालीमा पुगेको क्षति, जारी खोज तथा उद्धार र पुनर्स्थापना कार्य तथा थप बाढी–पहिरोको जोखिमलाई यसको प्रमुख कारण भनिएको छ।
अमेरिकाले भने नेपाललाई समग्रमा ‘लेभल–२ : एक्सरसाइज इन्क्रिज्ड कशन’, अर्थात् थप सावधानी अपनाउनुपर्ने देशकै सूचीमा कायम राखेको छ। यसअघि नागरिक अशान्तिका कारण नेपाल यो स्तरमा रहेकामा पछिल्लो अपडेटमा प्राकृतिक विपद्को जोखिमसमेत थपिएको हो।
रसुवागढी क्षेत्रमा किन ‘लेभल–४’ ?
अमेरिकी मूल्यांकनअनुसार पछिल्लो विनाशकारी बाढीपछि रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्रमा यातायात र सञ्चार प्रणाली प्रभावित छन्। खोज, उद्धार तथा पुनःस्थापनाका काम जारी रहेको र थप बाढी तथा पहिरोको जोखिम कायम रहेको भन्दै त्यहाँ नजान आफ्ना नागरिकलाई भनिएको छ।
प्रभावित क्षेत्रमा आफन्त वा हराइरहेका व्यक्तिको खोजीका लागि समेत व्यक्तिगत रूपमा प्रवेश नगर्न र नेपाली अधिकारीले जारी गरेका सुरक्षा तथा उद्धारसम्बन्धी निर्देशन पालना गर्न आग्रह गरिएको छ।
अशान्तिको जोखिम पनि अमेरिकी चासोमा
अमेरिकी एड्भाइजरीले नेपालको सुरक्षा अवस्था अहिले तुलनात्मक रूपमा स्थिर रहेको उल्लेख गरे पनि विशेषगरी सहरी क्षेत्रमा प्रदर्शन र स्थानीय अशान्ति पुनः उत्पन्न हुन सक्ने जोखिम औंल्याएको छ।
सन् २०२५ सेप्टेम्बरमा सुरु भएका देशव्यापी प्रदर्शन रोकिइसकेको भए पनि प्रदर्शन छोटो सूचनामै सुरु हुन सक्ने र कतिपय अवस्थामा हिंसात्मक बन्न सक्ने भएकाले ठूलो भीड तथा प्रदर्शनबाट टाढा रहन अमेरिकी नागरिकलाई सुझाव दिइएको छ।
स्वास्थ्य सेवाबारे पनि सचेत गरायो
अमेरिकाले नेपालमा नियमित तथा आकस्मिक स्वास्थ्य सेवा व्यवस्थापन गर्ने क्षमता सीमित रहेको जनाएको छ।
काठमाडौंका अस्पतालको अवस्था अन्य क्षेत्रको तुलनामा राम्रो भए पनि भीडभाड, उपकरण वा औषधिको अभाव तथा उपचारअघि नै भुक्तानी गर्नुपर्ने अवस्था आउन सक्ने एड्भाइजरीमा उल्लेख छ।
त्यसैले नेपाल आउने अमेरिकी नागरिकलाई स्वास्थ्य बीमा तथा मेडिकल इभ्याकुएसनसमेत समेटिएको यात्रा बीमा गर्न सुझाव दिइएको छ।
मनसुनमा बाढी–पहिरो, जुनसुकै बेला भूकम्प
अमेरिकी सरकारले नेपालमा भूकम्प, बाढी र पहिरो नियमित प्राकृतिक जोखिमका रूपमा रहेको समेत उल्लेख गरेको छ।
विशेषगरी जुनदेखि सेप्टेम्बरसम्म भारी वर्षाका कारण आकस्मिक बाढी तथा पहिरो जान सक्ने, सडक अवरुद्ध हुन सक्ने र आपत्कालीन उद्धार कठिन बन्न सक्ने चेतावनी दिइएको छ। काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा भूकम्प पूर्वसूचनाबिनै आउन सक्ने जोखिमसमेत स्मरण गराइएको छ।
नेपाल यात्रा गर्ने अमेरिकी नागरिकलाई स्थानीय समाचार नियमित हेर्न, प्रदर्शन तथा भीडबाट टाढा रहन, यात्रा योजना परिस्थितिअनुसार परिवर्तन गर्न तयार रहन र अमेरिकी विदेश मन्त्रालयको Smart Traveler Enrollment Program (STEP) मा दर्ता हुन सुझाव दिइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।