काठमाण्डौ । भोटेकोसीमा आएको विनाशकारी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाहरूमा सोमबार पनि हराइरहेका तथा सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार कार्य जारी रह्यो। नेपाली सेना, विदेशी विशेषज्ञ, प्राविधिक, पर्वतारोही र सुरक्षाकर्मीसहितको संयुक्त टोली विभिन्न आयोजनामा खटिए पनि सुरुङभित्र पानी भरिनु, प्रवेशद्वारमा ढुंगा/माटो थुप्रिनु र संरचना नै क्षतिग्रस्त हुनुजस्ता कारणले भित्रसम्म पुग्न कठिनाइ भएको छ। अधिकांश आयोजनामा अपेक्षित सफलता हात लाग्न सकेन।
नेपाली सेनाका अनुसार त्रिशूली ३ ए मा टनेल हेड फेला परेको छ। कम्प्रेसरबाट हावा दिने र पानी निकाल्ने कार्य भइरहेको छ। तीनवटा एक्साभेटर प्रयोग गरी वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ। सुरुङको क्राउन ब्लास्ट गर्दा भित्र पानी रहेको पाइएपछि पम्पबाट पानी बाहिर निकाल्ने र मुखतर्फ थुप्रिएको ढुंगा/माटो हटाएर प्रवेश मार्ग बनाउने काम भइरहेको छ। विज्ञ तथा प्राविधिक टोली निरन्तर खटिए पनि पानीका कारण उद्धार चुनौतीपूर्ण बनेको नेपाल विद्युत् प्राधिकरणका कामु प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताएका छन्।

त्रिशूली ३ बी मा पनि विज्ञसहितको सैनिक टोली खटिएको छ। एक्साभेटरबाट खोजि तथा उद्धारको प्रयास जारी छ। बाढीले आयोजनाका प्रायः सबै संरचना बगाएकाले कार्य थप कठिन बनेको छ। आयोजनासँगै रहेको २२० केभी त्रिशूली ३ बी हब सबस्टेसनमा समेत पूर्ण क्षति पुगेको छ। सबस्टेसन क्षेत्रबाट सम्पर्कविहीन भएकाहरूको पनि खोजी भइरहेको छ। यसअघि यहाँबाट नेपाली सेनाले दुई जनाको उद्धार गरिसकेको छ भने थप नौ जना परिचालन गरी कुल ३१ जनाले काम गरिरहेका छन्।
चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोली सुरुङको करिब ३५ देखि ९० मिटरसम्म पुगेको छ। २५० मिटर लामो सुरुङमा अगाडि क्लियर गर्ने र विद्युत्गृहसम्म पुग्ने मार्ग खुलाउने काम भइरहेको छ। नेपाली सेना, पर्वतारोही, भारतीय प्राविधिक र आयोजनाका कर्मचारीसहितको टोली खटिएको छ।
लाङटाङ हाइड्रोको टनेलमा करिब ६५ मिटरसम्म पुगिएको छ। त्यहाँबाट एउटा शव निकालिएको छ। नेपाली सेनाको नेतृत्वमा भारतीय सेना तथा प्राविधिकसहितको टोलीले आयोजनास्थल र सुरुङको निरीक्षण गरे पनि फसेकाहरूको उद्धार हुन सकेन। आयोजनाले मंगलबार आफ्नोतर्फबाट पनि उद्धार प्रक्रिया अघि बढाउने जनाएको छ।

अपर त्रिशूली–१ मा विदेशीसहितको संयुक्त टोली मैलुङमा २०० मिटर र हाँकूमा ३०० मिटरसम्म पुगेर खोजी गरिरहेको छ। सोमबार थप तीन जनाको उद्धार भएको छ। हालसम्म उद्धार भएका तथा सम्पर्कमा आएकाको संख्या ८७३ पुगेको छ। परामर्शदाता, ठेकेदार र कर्मचारी गरी ५७३ जना अझै सम्पर्कविहीन छन्। तीमध्ये करिब ३०० जना सुरुङभित्र काम गर्ने व्यक्ति रहेको बताइएको छ। उनीहरू सुरुङभित्र थिए वा प्रवेश गर्न बाँकी थिए भन्ने यकिन हुन सकेको छैन। बाढी आएको दिन आयोजनामा एक हजार चार सयभन्दा बढी व्यक्ति कार्यरत रहेको हुनसक्ने अनुमान गरिएको छ। नेपाली सेनासँगै कोरियन र चिनियाँ टोलीले काम गरिरहेका छन्।
रसुवागढी हाइड्रोको टनेलमा संयुक्त उद्धार टोली करिब २५० मिटरसम्म पुगी बन्द भाग फेला पारेको छ। नेपाली सेनाको नेतृत्वमा इन्जिनियर र ड्रोनसहितको टोलीले सुरुङभित्र प्रवेश गरी खोजी गरे पनि कोही फेला परेनन्। त्यसपछि टोली फर्किएको छ। आयोजनाबाट कम्पनीका ४९ कर्मचारीसहित ९३ जना हराइरहेको विवरण छ। यसअघि चिनियाँ र नेपाली सेनाको संयुक्त टोलीले भित्री भागसम्म खोजी गर्दा मानिस नभेटिएपछि फर्किएको थियो।
समग्रमा जलविद्युत् परियोजनामा कार्यरत २७९ जनाको उद्धार भइसकेको छ। मैलुङ खोलाबाट नौ जना, माथिल्लो त्रिशूली–१ बाट २५४ जना, नुवाकोटको त्रिशूलीबाट तीन जना, सौर्य आयोजनाबाट चार जना, देवीघाटबाट चार जना र रसुवागढीबाट दुई जनाको उद्धार भएको छ। सोमबार एक जर्मन नागरिकसहित १०९ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।
आइतबारदेखि टनेलमा केन्द्रित भए पनि नेपाली सेनाले अन्य खोज तथा उद्धारलाई निरन्तरता दिएको छ। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा आठ हजार नौ सयभन्दा बढी फौजले अन्य सुरक्षाकर्मीसँग समन्वय गरी घाइते उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक सुचारु र आपत्कालीन उपचारका कार्य गरिरहेको छ। जङ्गल, डाँडा, खोला र बस्तीमा पैदल गस्ती गर्दै स्थानीयसँग अवस्था बुझ्ने काम पनि भइरहेको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार भौतिक संरचनामा ठूलो क्षति, सुरुङमा जमेको पानी र भग्नावशेषका कारण खोजी तथा उद्धार अझै जटिल अवस्थामा छ। केही आयोजनामा सम्पर्कबिहीन भएका मानिसहरू फसेको आशंका गरिएको छ। नुवाकोटको माथिल्लो त्रिशूली थ्री ए मा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको गरी ९० जनाको टोली खटिएको छ भने नेपाल विद्युत् प्राधिकरणको टोलीले पनि सहयोग गरिरहेको छ।
-सबै फोटोहरु सौजन्य: नेपाली सेना


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।