मंगलवार, भाद्र १६,२०८३ 03:08:10
Bizshala
  • मंगलवार, भाद्र १६,२०८३ 03:08:10
Bizshala
Global IME Bank Limited

बाढीको सातौँ दिन सेनाले थप २३ जनालाई जीवितै उद्धार गर्‍यो, टनेलभित्र खोजी झन् गहिरिँदै

लाङटाङमा १५० र अपर त्रिशूली–१ मा २०० मिटरसम्म पुग्यो टोली, हजारौँ सैनिक फिल्डमा

बाढीको सातौँ दिन सेनाले थप २३ जनालाई जीवितै उद्धार गर्‍यो, टनेलभित्र खोजी झन् गहिरिँदै
New Office

 

काठमाण्डौ । भोटेकोशीमा आएको विनाशकारी बाढीको सातौँ दिन पनि प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान तीव्र रूपमा जारी छ। नेपाली सेनाले मंगलबार थप २३ जनालाई जीवितै उद्धार गरेको छ भने विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र बेपत्ता तथा फसेकाहरूको खोजीमा स्वदेशी–विदेशी विज्ञसहितको संयुक्त टोली परिचालित छ।

सैनिक मुख्यालयका अनुसार थप २३ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार उद्धार गरिएकाहरूको स्वास्थ्य अवस्था हेरेर नुवाकोटको विदुरस्थित अस्पताल वा काठमाडौंका विभिन्न अस्पतालमा उपचार तथा स्वास्थ्य परीक्षण गरिनेछ।

यसअघि उद्धार गरिएका व्यक्तिमध्ये स्वास्थ्य परीक्षणपछि अवस्था सामान्य रहेकाहरूलाई आफन्तको जिम्मा लगाइएको छ।

टनेलभित्र बढ्दै खोजीको दायरा

बाढी प्रभावित विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा नेपाली सेनासँगै विदेशी विज्ञ तथा प्राविधिकसहितको संयुक्त टोलीले खोज तथा उद्धार जारी राखेको छ।

सेनाका अनुसार एउटा सुरुङमा संयुक्त टोली करिब ५० मिटरसम्म भित्र प्रवेश गरेर खोजीमा जुटेको छ।

लाङटाङ हाइड्रोपावरको सुरुङमा टोली करिब १५० मिटरसम्म पुगेको छ। त्यहाँ सुरुङभित्र सम्भावित स्थानमा खोजीलाई निरन्तरता दिइएको छ।

त्यस्तै अपर त्रिशूली–१ मा संयुक्त उद्धार टोली करिब २०० मिटरसम्म सुरुङभित्र प्रवेश गरेको सेनाले जनाएको छ।

त्रिशूली क्षेत्रको सुरुङमा टनेल हेड पहिचान गरी कम्प्रेसरमार्फत हावा पठाउने तथा भित्र जमेको पानी निकाल्ने काम भइरहेको छ। तीनवटा एक्साभेटर प्रयोग गरी पछाडितर्फबाट करिब १५ मिटर वैकल्पिक मार्ग खोलिएको सेनाको अपडेटमा उल्लेख छ।

रक ब्रेकर प्रयोग गरी सुरुङभित्र प्रवेश गर्न मिल्ने स्थान बनाउन ढुंगा फुटाउने कामसमेत जारी छ।

अर्को सुरुङमा विज्ञसहितको टोलीले प्रवेशद्वार पहिचान गरेर एक्साभेटरमार्फत बाटो खुलाउने प्रयास गरिरहेको छ।

Bizshala
CG Motors

विभिन्न आयोजनाबाट सयौँको जीवित उद्धार

बाढीपछि तत्काल सुरु गरिएको अभियानका क्रममा विभिन्न जलविद्युत् आयोजना र प्रभावित क्षेत्रबाट सेनाले ठूलो संख्यामा नागरिकलाई जीवितै उद्धार गरिसकेको छ।

सेनाले सार्वजनिक गरेको विवरणअनुसार रसुवागढी क्षेत्रबाट २७९, माथिल्लो त्रिशूली–१ बाट ३३, माथिल्लो त्रिशूली थ्री ‘ए’बाट २२१, माथिल्लो त्रिशूली थ्री ‘बी’बाट दुई, मैलुङबाट नौ, नुवाकोट सौर्य विद्युत् आयोजनाबाट चार, त्रिशूली जलविद्युत् आयोजनाबाट तीन र देवघाट क्षेत्रबाट ५० जनाको जीवित उद्धार गरिएको छ।

फिल्डमा ९ हजार २०० भन्दा बढी सैनिक

टनेलमा केन्द्रित उद्धारसँगै सेनाले जमिनबाट हुने खोज, राहत तथा व्यवस्थापनको कामसमेत जारी राखेको छ।

टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार २०० भन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालित रहेको सैनिक मुख्यालयले जनाएको छ।

सैनिक टोलीले जंगल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्ती गर्दै बेपत्ताको खोजी, घाइतेको उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक खुलाउने तथा आपत्कालीन उपचारमा अन्य सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरिरहेको छ।

शव व्यवस्थापनसँगै संक्रमण रोक्ने अभियान

बाढी प्रभावित क्षेत्रमा शव तथा भग्नावशेषका कारण संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सेनाले निसंक्रमणको कामसमेत अघि बढाएको छ।

धुन्चे बजार, त्रिशूली, देवघाट, परासीस्थित पृथ्वीचन्द्र अस्पतालको शव संकलन क्षेत्र तथा सुनवल नगरपालिका–४ को मूलपानी सामुदायिक वन क्षेत्रमा संक्रमण न्यूनीकरणका काम गरिएको सेनाले जनाएको छ।

अन्य प्रभावित क्षेत्रमा समेत स्थानीय तहसँग समन्वय गरी संक्रमण रोकथाम तथा सरसफाइका काम अघि बढाइएको छ।

बाढीको सातौँ दिनसम्म आइपुग्दा खुला क्षेत्रमा फसेका नागरिकको उद्धारसँगै अब अभियानको मुख्य चुनौती जलविद्युत् आयोजनाका क्षतिग्रस्त सुरुङभित्र पुग्नु बनेको छ। पानी, ढुंगा, लेदो र क्षतिग्रस्त संरचनाबीच संयुक्त टोलीले सुरुङभित्र मिटर–मिटर अगाडि बढाउँदै खोजी जारी राखेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.