काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा सेवा प्रवाह सहज बनाउन लघुवित्त वित्तीय संस्थाहरूलाई शाखा तथा कार्यालय स्थानान्तरण वा नजिकको शाखामा समायोजन गर्न सक्ने व्यवस्था गरेको छ।
नेपाल राष्ट्र बैंकले जारी गरेको लघुवित्त वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन अनुसार २०८३ भदौमा आएको प्राकृतिक विपद्का कारण रसुवालगायत प्रभावित क्षेत्रमा शाखा तथा कार्यालयमा क्षति पुगेको वा नियमित रूपमा सञ्चालन गर्न असहज भएको अवस्थामा सम्बन्धित इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकको पूर्वस्वीकृति नलिई शाखा स्थानान्तरण वा नजिकको अर्को शाखामा समायोजन गर्न सक्नेछन्।
विपद्का कारण भौतिक संरचनामा क्षति पुगेका, सेवा सञ्चालनमा अवरोध भएका वा सेवाग्राहीसम्म नियमित सेवा पुर्याउन कठिनाइ भएका शाखाहरूलाई तत्काल वैकल्पिक स्थानबाट सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।
निर्देशनअनुसार, संस्थाले यसरी शाखा स्थानान्तरण वा समायोजन गरेपछि ७ दिनभित्र नेपाल राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ। अर्थात्, पूर्वस्वीकृतिको प्रक्रियामा समय लाग्ने अवस्था नराखी प्रभावित क्षेत्रमा वित्तीय सेवा यथाशीघ्र पुनः सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।
विशेषगरी रसुवालगायत प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा लघुवित्तका शाखा तथा कार्यालयहरूमा क्षति पुगेको अवस्थामा यो व्यवस्थाले संस्थाहरूलाई वैकल्पिक स्थानबाट सेवा सञ्चालन गर्न सहज बनाउने अपेक्षा गरिएको छ। यसबाट प्रभावित सेवाग्राहीलाई ऋण, बचत तथा अन्य वित्तीय सेवा निरन्तर उपलब्ध गराउन सहयोग पुग्नेछ।
नेपाल राष्ट्र बैंकको उक्त व्यवस्थाले विपद्को समयमा लघुवित्त संस्थाहरूको सञ्चालनलाई लचिलो बनाउँदै वित्तीय पहुँच र सेवा निरन्तरता कायम गर्न जोड दिएको देखिन्छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।