काठमाण्डौ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ प्रवेशद्वारमा अवरोध बनेका सात वटा ठूला कडा ढुंगा विस्फोट गरी हटाइएको छ।
सांसद तथा सुरुङ विज्ञ श्रीराम न्यौपानेका अनुसार गएराति सुरुङको मुखमा जमेको पानी निकालेपछि भित्र प्रवेश गर्ने क्रममा ठूला ढुंगा भेटिएका थिए। ती ढुंगा विस्फोट गरी हटाइएपछि अहिले सुरुङभित्र अगाडि बढ्ने काम जारी छ।
उनले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार विस्फोटपछि खसेका ढुंगा सफा गर्ने, सुरुङभित्र तल झर्ने तथा सतह सम्याउने अर्थात् ‘लेभल डाउन’ गर्ने काम भइरहेको छ।
सुरुङभित्र जमेको लेदो र माटो हटाएर बाहिर ल्याउन ह्विल लोडर र मिनी एक्स्काभेटरसमेत तयारी अवस्थामा राखिएको छ।
हालको अवस्थाबाट करिब १६० मिटर अगाडि बढ्न सके पावर हाउस क्षेत्र पुगिने न्यौपानेले बताएका छन्।
उनका अनुसार अहिले पावर हाउस क्षेत्रलाई तुलनात्मक रूपमा सुरक्षित स्थान मानिएको छ।
‘सुरुङभित्र प्रवेश गरी अवरोध हटाउँदै पावर हाउससम्म पुग्ने प्रयास जारी छ,’ न्यौपानेले उल्लेख गरेका छन्।
भोटेकोशी–त्रिशूली बाढीपछि त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ क्षेत्रमा ठूलो मात्रामा लेदो, पानी र ढुंगा जम्मा हुँदा भित्र पुग्ने प्रयास निकै कठिन बनेको थियो।
अब ठूला ढुंगा हटाइएपछि सुरुङ सफा गर्दै पावर हाउसतर्फ अगाडि बढ्ने बाटो केही खुला भएको छ। यद्यपि सुरुङभित्रको वास्तविक अवस्था, लेदोको मात्रा र थप अवरोधका कारण उद्धार तथा पहुँचको काम अझै चुनौतीपूर्ण रहेको बताइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।