काठमाडौं। महालक्ष्मी विकास बैंकले भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको हो। कुल सहयोग रकममा बैंकको संस्थागत योगदानसँगै बैंकमा कार्यरत कर्मचारीहरूको एक दिनबराबरको पारिश्रमिकसमेत समावेश गरिएको छ।
विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, त्रिशूली र देवीघाटलगायत स्थानका बासिन्दा बाढीबाट प्रत्यक्ष प्रभावित भएका छन्।
विपद्पछिको खोज तथा उद्धारसँगै प्रभावित नागरिकको राहत, पुनःस्थापना र जनजीवन सामान्य बनाउने अभियानमा सहयोग पुर्याउन बैंक व्यवस्थापन र कर्मचारीले संयुक्त रूपमा रकम संकलन गरेका हुन्।
बैंकले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै बैंकले राहत, उद्धार र पुनःस्थापनाका लागि सम्बन्धित निकाय तथा सरोकारवालाबाट भइरहेका प्रयासमा आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धतासमेत जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।