काठमाडौं। भोटेकोशी बाढीमा आफन्त गुमाएका तथा बेपत्ता परिवारका सदस्यको खोजी प्रभावकारी नभएको भन्दै आक्रोश पोखिरहेका पीडित महिलामाथि सामाजिक सञ्जालमा भइरहेको गालीगलौजप्रति प्रधानमन्त्री बालेन शाहले कडा चेतावनी दिएका छन्।
प्रधानमन्त्री शाहले पीडाको घडीमा रहेका नागरिकमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरूलाई ‘अपराधी’को संज्ञा दिँदै उनीहरूप्रति सरकार निर्मम हुने बताएका हुन्।
विनाशकारी बाढीमा पति तथा परिवारका अन्य सदस्य गुमाएका केही महिलाले पछिल्ला दिन विभिन्न सञ्चारमाध्यममार्फत सरकारप्रति आक्रोश व्यक्त गरेका थिए। आफूहरूले विगतमा मतदान गरे पनि विपत्तिका बेला राज्यको प्रभावकारी साथ नपाएको र बेपत्ता आफन्तको खोजीमा पर्याप्त प्रयास नभएको उनीहरूको गुनासो थियो।
तर पीडित महिलाका आक्रोशमिश्रित अभिव्यक्ति समेटिएका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कतिपय प्रयोगकर्ताले उनीहरूमाथि अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए। विपत्तिमा आफन्त गुमाएका महिलाको पीडालाई राजनीतिक समर्थन वा विरोधको आँखाले हेर्दै गरिएको दुर्व्यवहारले नेपाली समाजको संवेदनशीलतामाथि नै गम्भीर प्रश्न उठाएको छ।
विशेषगरी पति गुमाएका तथा आफन्त अझै बेपत्ता रहेका महिलालाई लक्षित गरी पुरुष प्रयोगकर्ताबाट गरिएका अपमानजनक टिप्पणीको चौतर्फी आलोचना भइरहेको छ। आलोचकहरूले पीडितले सरकारमाथि प्रश्न उठाएकै कारण उनीहरूमाथि डिजिटल हिंसा भएको भन्दै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कारबाही हुनुपर्ने माग गरिरहेका छन्।
जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले समेत सामाजिक सञ्जालमा फैलिएको यस्तो घृणा, लैङ्गिक हिंसा र असंवेदनशील अभिव्यक्तिलाई समयमै सम्बोधन गर्न नसकेको टिप्पणी भइरहेका बेला प्रधानमन्त्री शाहले पहिलोपटक स्पष्ट र कठोर प्रतिक्रिया दिएका हुन्।
बाढीपहिरोसम्बन्धी दैनिक जानकारी सार्वजनिक गर्दै प्रधानमन्त्रीले आफन्त बेपत्ता हुँदाको असह्य पीडाबाट निस्किएको आक्रोशलाई सरकारले स्वाभाविक रूपमा लिएको बताएका छन्।
“आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोश स्वाभाविक हो,” प्रधानमन्त्रीले लेखेका छन्, “एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो। हामीले उहाँहरूको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्छ।”
उनले पीडितका प्रश्न र आक्रोशलाई राजनीतिक विरोधका रूपमा बुझेर प्रतिशोधपूर्ण टिप्पणी नगर्न आग्रह गरेका छन्। यस्तो संवेदनशील समयमा पीडितको मनोबल तोड्ने र उनीहरूको घाउमा थप चोट पुर्याउने गतिविधि सामान्य अभिव्यक्ति नभई अपराध भएको प्रधानमन्त्रीको भनाइ छ।
“यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्,” शाहले चेतावनी दिँदै भनेका छन्, “ती अपराधीहरूप्रति सरकार निर्मम हुनेछ।”
प्रधानमन्त्रीको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा पीडितमाथि अपशब्द प्रयोग गर्ने व्यक्तिको पहिचान गरी कानुनी कारबाही अघि बढाइने संकेत गरेको छ। यद्यपि सरकारले त्यस्ता टिप्पणीमाथि निगरानी, अनुसन्धान तथा कारबाहीका लागि अपनाउने ठोस प्रक्रियाबारे थप विवरण सार्वजनिक गरेको छैन।
प्रधानमन्त्री शाहले बेपत्ता नागरिकको खोजी रोकिएको भन्ने गुनासोलाई सम्बोधन गर्दै सुरक्षाकर्मीहरू अझै पनि बाढीले दलदल र खण्डहर बनाएका क्षेत्रमा निरन्तर खोजीमा रहेको उल्लेख गरेका छन्।
“हाम्रा सुरक्षाकर्मीहरू अझै पनि कुनै बहाना नबनाई बाढीपछिको दलदल र खण्डहर बनेका क्षेत्रहरूमा खोस्रिरहेका छन्। उहाँहरूका आँखा चनाखा छन्,” उनले भनेका छन्।
आफ्नो ज्यान जोखिममा राखेर उद्धार तथा खोजीमा खटिएका सुरक्षाकर्मीको आत्मबल बढाउनु सबैको कर्तव्य भएको उल्लेख गर्दै प्रधानमन्त्रीले उनीहरूप्रति हरेक दिन हृदयदेखि कृतज्ञता व्यक्त गर्नुपर्ने बताएका छन्।
बेपत्ता परिवारका सदस्य भेटिने प्रतीक्षामा रहेका नागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अन्त्यमा लेखेका छन्, “आदरणीय आमाबुबाहरू, हामीमाथि भरोसा राख्नुहोस्।”
प्रधानमन्त्रीको चेतावनीपछि अब सामाजिक सञ्जालमा पीडित महिलामाथि गालीगलौज गर्नेहरूको पहिचान र कारबाही हुन्छ वा अभिव्यक्ति चेतावनीमै सीमित रहन्छ भन्नेमा चासो बढेको छ। विपत्तिमा आफ्ना प्रियजन गुमाएका नागरिकका प्रश्न सुन्नु, खोजीको विश्वसनीय जानकारी दिनु र उनीहरूलाई थप हिंसाबाट जोगाउनु सरकार तथा समाज दुवैको साझा दायित्व बनेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।