काठमाण्डौ । विनाशकारी बाढी तथा पहिरोपछि रसुवामा हैजा तथा अन्य पानीजन्य रोग फैलिन सक्ने जोखिम बढेपछि सरकारले हैजाविरुद्धको २१ हजार डोज खोप प्रभावित क्षेत्रमा पठाएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप आइतबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत रसुवा पुर्याइएको हो।
बाढीका कारण खानेपानीका मुहान, पाइपलाइन तथा वितरण प्रणालीमा ठूलो क्षति पुगेपछि दूषित पानीका कारण हैजा, झाडापखाला तथा अन्य पानीजन्य रोग फैलिन सक्ने जोखिम बढेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
यसैलाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रभावित क्षेत्रमा रोगको रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न आवश्यक खोप, औषधि, स्वास्थ्य सामग्री तथा जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिएकी छन्।
मन्त्रीको निर्देशनपछि प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, स्वास्थ्यकर्मी परिचालन गर्ने, रोग निगरानी बढाउने तथा सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिने काम तीव्र पारिएको स्वास्थ्य अधिकारीहरूको भनाइ छ।
बाढीपछि विस्थापित नागरिक अस्थायी शिविर तथा सामूहिक बसोबासमा रहनुपरेको अवस्थामा स्वच्छ खानेपानी, सरसफाइ र स्वास्थ्य सेवामा समस्या देखिए पानीजन्य रोग तीव्र रूपमा फैलिन सक्ने जोखिम रहन्छ।
त्यसैले प्रभावित क्षेत्रमा हैजाको सम्भावित संक्रमण रोक्न खोपसँगै पानी शुद्धीकरण, सरसफाइ, रोग निगरानी र बिरामीको शीघ्र उपचारलाई समेत समान प्राथमिकता दिनुपर्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
सरकारले हाल पठाएको २१ हजार डोज खोपलाई उच्च जोखिममा रहेका प्रभावित क्षेत्र तथा समुदायलाई प्राथमिकताका आधारमा प्रयोग गर्ने तयारी गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।