आईतवार, भाद्र २१,२०८३ 01:16:48
Bizshala
  • आईतवार, भाद्र २१,२०८३ 01:16:48
Bizshala
Global IME Bank Limited

कांग्रेसको वडा अधिवेशन एक साता सर्ने तयारी, केन्द्रीय महाधिवेशन असोजमै गर्ने अडान

बाढी, सडक अवरोध, तीज र आन्तरिक सहमति प्रयासलाई कारण देखाउँदै तल्लो तहको कार्यतालिका हेरफेरको तयारी

कांग्रेसको वडा अधिवेशन एक साता सर्ने तयारी, केन्द्रीय महाधिवेशन असोजमै गर्ने अडान
New Office

 

 

काठमाण्डौ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका केही पर सार्ने तयारी गरेको छ। विशेषगरी आगामी बुधबारका लागि तय गरिएको वडा अधिवेशन करिब एक साता पछाडि धकेल्ने विषयमा आइतबार बस्ने कार्यसम्पादन समिति बैठकमा छलफल हुने भएको छ।

सभापति गगन थापाले आइतबार दिउँसो १ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। बैठकमा बाढीपछिको अवस्था, विभिन्न स्थानमा सडक अवरोध, पार्टीभित्र जारी आन्तरिक संवाद र हरितालिका तीजलाई आधार बनाउँदै तल्लो तहको अधिवेशन कार्यतालिका संशोधन गर्ने विषय मुख्य एजेन्डा बन्ने बताइएको छ।

यद्यपि कांग्रेस संस्थापन पक्षले केन्द्रीय महाधिवेशनको मिति भने तत्काल परिवर्तन नगर्ने रणनीति बनाएको छ। पार्टीले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने पूर्वनिर्धारित कार्यतालिका कायम राख्ने तयारी गरेको छ।

कार्यसम्पादन समितिका एक सदस्यका अनुसार वडा अधिवेशन एक साता पछाडि सार्ने तयारी भइरहेको छ। उनका अनुसार पछिल्लो बाढी, सडक सञ्जालमा परेको अवरोध, पार्टीभित्र सहमतिको प्रयास र तीज पर्वका कारण तल्लो तहको अधिवेशन समयमै गर्न व्यावहारिक कठिनाइ देखिएको हो।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई राहत, उद्धार तथा प्रभावित क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको थियो। बाढी र त्यसपछिको वर्षाका कारण विभिन्न जिल्लामा सडक सम्पर्क प्रभावित हुँदा अधिवेशनका लागि आवतजावत र व्यवस्थापनमा समेत समस्या देखिएको नेताहरू बताउँछन्।

यसअघि तय भएको कार्यतालिकाअनुसार भदौ २७ गते गाउँ तथा नगर अधिवेशन र भदौ ३१ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यक्रम थियो। तर यस वर्ष हरितालिका तीज भदौ २९ गते परेको हुँदा विशेषगरी महिला प्रतिनिधिको सहभागितालाई सहज बनाउन पनि कार्यतालिका पुनरावलोकन गर्नुपर्ने आवाज पार्टीभित्र उठेको छ।

गगनको संवाद अभियान

महाधिवेशन कार्यतालिका परिवर्तनको तयारी पार्टीभित्र देखिएको पछिल्लो विवाद समाधान गर्ने प्रयाससँग पनि जोडिएको छ।

सभापति गगन थापा पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग संवादमा छन्। क्रियाशील सदस्यता, पुरानो र नयाँ पार्टी संरचनाको समायोजन तथा महाधिवेशनको प्रक्रियालाई लिएर देखिएको मतभेद कम गर्न संस्थापन पक्षले शीर्ष तहमा संवादलाई तीव्र बनाएको छ।

पार्टीभित्र सहमति कायम गरेर तल्लो तहको अधिवेशन अघि बढाउन सके महाधिवेशन प्रक्रियामा देखिएको तनाव कम हुने संस्थापन पक्षको बुझाइ छ।

केन्द्रीय महाधिवेशन भने असोजमै

तल्लो तहको अधिवेशन केही पर सारिए पनि केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म नै गर्ने संस्थापन पक्षको तयारी छ।

कांग्रेसको अर्को पक्षले भने मंसिरमा महाधिवेशन गर्ने गरी छुट्टै मिति अघि सारेको छ। यसैबीच महाधिवेशनसम्बन्धी विषय अदालतमा पुनरावलोकनको प्रक्रियामा समेत रहेको उल्लेख गरिएको छ।

संस्थापन पक्षका एक शीर्ष नेताका अनुसार केन्द्रीय महाधिवेशनको मिति परिवर्तन हुने सम्भावना एउटा अवस्थासँग मात्र जोडिएको छ।

उनका अनुसार पुनरावलोकनसम्बन्धी दुवै रिट फिर्ता लिएर पार्टीभित्र सहमतिको वातावरण बनेमा केन्द्रीय महाधिवेशन केही पर सार्ने विकल्पमा समेत छलफल हुन सक्छ।

अहिलेको अवस्थामा भने कांग्रेसको रणनीति स्पष्ट देखिन्छ तल्लो तहको कार्यतालिकामा केही लचकता अपनाउने, तर केन्द्रीय महाधिवेशन असोजमै सम्पन्न गर्ने।

आइतबारको कार्यसम्पादन समिति बैठकले वडा तथा अन्य तल्लो तहका अधिवेशनको नयाँ मिति र पार्टीभित्र भइरहेको सहमति प्रयासबारे थप स्पष्ट निर्णय गर्ने अपेक्षा गरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.