काठमाण्डौ । अमेरिकाको स्थापनाको २५०औँ वार्षिकोत्सवको अवसरमा अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको युएस मिन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अङ्कित नयाँ एक डलरको सिक्का सार्वजनिक गरेको छ।
आधुनिक अमेरिकी इतिहासमा जीवित व्यक्तिको तस्बिर सिक्कामा राखिएको घटना अत्यन्त दुर्लभ मानिन्छ। यसअघि सन् १९२६ मा तत्कालीन राष्ट्रपति क्याल्भिन कुलिजको तस्बिर स्मारक सिक्कामा राखिएको थियो। नयाँ सिक्काको अघिल्लो भागमा ट्रम्पको तस्बिरसहित ‘लिबर्टी’, ‘इन गड वी ट्रस्ट’ र ‘१७७६–२०२६’ लेखिएको छ।
तर सिक्का जारी गर्ने निर्णय विवादमा परेको छ। अमेरिकी कानुनले सामान्यतः जीवित व्यक्तिको तस्बिर मुद्रामा राख्न रोक लगाएको भए पनि ट्रम्प प्रशासनले सन् २०२० को ‘सर्कुलेटिङ कलेक्टिबल कोइन रिडिजाइन एक्ट’ को व्यवस्था प्रयोग गरेको बताइएको छ।
उक्त कानुनले २५०औँ वार्षिकोत्सवका लागि विशेष सिक्का जारी गर्न अनुमति दिएको छ। कानुनमा सिक्काको पछिल्लो भागमा जीवित व्यक्तिको तस्बिर राख्न रोक भए पनि अघिल्लो भागबारे स्पष्ट व्यवस्था नभएको तर्क गर्दै ट्रम्पको तस्बिर राखिएको हो।
विपक्षी डेमोक्र्याट नेताहरूले भने यसलाई राष्ट्रपतिको व्यक्तिगत प्रचार र ‘ब्रान्डिङ’ को हिस्सा भएको आरोप लगाएका छन्। महँगी र जीवनयापनको खर्च बढिरहेका बेला राष्ट्रपतिले सरकारी प्रतीकमा आफ्नो अनुहार स्थापित गर्न खोजेको उनीहरूको आलोचना छ।
ट्रम्पले भने सिक्कामा आफ्नो तस्बिर राखिएको घटनालाई ‘असामान्य तर सम्मानजनक’ भएको प्रतिक्रिया दिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।