Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 01:33:54
Bizshala
Global IME Bank Limited

गृहमन्त्री गुरुङको भाषणले रास्वपाभित्रै तरंग, नेताहरूले उठाए अहंकार र अभिव्यक्ति स्वतन्त्रताको प्रश्न

गृहमन्त्री गुरुङको भाषणले रास्वपाभित्रै तरंग, नेताहरूले उठाए अहंकार र अभिव्यक्ति स्वतन्त्रताको प्रश्न
New Office

 

काठमाण्डौ । जेनजी दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले दिएको अभिव्यक्तिपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीभित्रै असन्तुष्टि देखिएको छ।

कार्यक्रमको स्वरूप, मञ्च व्यवस्थापन र अतिथि चयनबारे प्रश्न उठिरहेका बेला गृहमन्त्री गुरुङको भाषणलाई लिएर रास्वपाका केही नेताले सामाजिक सञ्जालमार्फत परोक्ष तर कडा प्रतिक्रिया दिएका छन्।

बालेन सरकारका ८ जना मन्त्री सहभागी भएको उक्त कार्यक्रममा गुरुङले पुराना राजनीतिक दल, आलोचक र केही पत्रकारलाई लक्षित गर्दै दिएको चेतावनीपूर्ण अभिव्यक्तिले विवाद थप चर्काएको हो।

‘बदल्छौं भन्नेहरू नै बदलिँदै त छैनौँ ?’

रास्वपाका संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले कार्यक्रमपछि सामाजिक सञ्जालमा लेखेको छोटो टिप्पणी चर्चामा आएको छ।

उनले लेखेका छन्–

‘श्रव्य– कर्कस
दृश्य– बिझाउने
“बदल्छौं” भन्नेहरू नै बदलिँदै त छैनौँ ?’

उनले प्रत्यक्ष रूपमा कसैको नाम उल्लेख नगरे पनि उनको टिप्पणी गृहमन्त्री गुरुङको भाषणतर्फ लक्षित रहेको व्याख्या भइरहेको छ।

‘सुध्रिनु अरूले मात्रै पर्ने ?’

रास्वपाकी नेतृ तथा संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालले पनि गृहमन्त्रीले पुराना दललाई ‘सुध्रिन’ दिएको चेतावनीप्रति परोक्ष प्रश्न उठाएकी छन्।

उनले लेखेकी छन्, ‘सुध्रिनु अरूले मात्रै पर्ने ? हामीले चाहिँ सुध्रिनु नपर्ने ? यही दिन देख्नलाई थियो महान शहीदहरूको बलिदान ?’

धितालले अघिल्लो वर्ष प्रेस स्वतन्त्रता, निरंकुशताविरुद्धको आवाज र राज्यसत्तालाई जवाफदेही बनाउन आफूहरू सडकमा उत्रिएको स्मरणसमेत गराएकी छन्।

‘हामीले राज्यलाई प्रश्न गरेका थियौँ, सत्तालाई विनम्र हुन भनेका थियौँ,’ उनले लेखेकी छन्, ‘अहिले हामीमाथि प्रश्न गर्नेहरूलाई किन हामी धम्की र चेतावनीको भाषा बोल्दैछौँ ?’

उनले वर्तमान सत्ता संरचनाले अभिव्यक्ति स्वतन्त्रतालाई बलियो बनाइरहेको छ कि उल्टै कमजोर पारिरहेको छ भन्ने प्रश्नसमेत उठाएकी छन्।

महामन्त्रीको सन्देश– ‘अहंकार विनाशको मूल’

रास्वपाका महामन्त्री विपीन आचार्यले पनि सामाजिक सञ्जालमार्फत लाक्षणिक प्रतिक्रिया दिएका छन्।

उनले लेखेका छन्, ‘अहङ्कारः विनाशस्य मूलम् ।’

अर्थात्– अहंकार नै विनाशको मूल कारण हो।

उनको उक्त अभिव्यक्तिलाई पनि गृहमन्त्री गुरुङको भाषणसँग जोडेर हेरिएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

बालेननिकट सांसदको पनि असन्तुष्टि

प्रधानमन्त्री बालेन शाहनिकट मानिने सांसद राजु पाण्डेले पनि कार्यक्रमपछि सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन्।

उनले लेखेका छन्, ‘जिम्मेवारीमा पुगिसकेकाले जिम्मेवारी खोसिएकालाई गाली गर्नु लाजास्पद हो !’

उनको यो अभिव्यक्तिलाई पनि गृहमन्त्रीले पुराना राजनीतिक दलका नेताहरूमाथि गरेको टिप्पणीप्रतिको प्रतिक्रिया मानिएको छ।

गृहमन्त्रीले के भनेका थिए ?

जेनजी दिवसको कार्यक्रममा गृहमन्त्री गुरुङले पुराना दलहरूलाई पटक–पटक ‘सुध्रिन’ चेतावनी दिएका थिए।

उनले जेनजी आन्दोलनलाई अवमूल्यन नगर्न आग्रह गर्दै भनेका थिए, ‘त्यो दिन इतिहास हो। इतिहास कसैले फेरेर फेरिँदैन। इतिहास फेर्ने कोसिस नगर्नुस्।’

उनले आन्दोलनको जनादेश जनताले निर्वाचनमार्फत पुष्टि गरेको दाबीसमेत गरेका थिए।

‘यो आन्दोलनलाई अपमान गर्नु भनेको तीन करोड जनताको अपमान हो,’ गुरुङले भनेका थिए, ‘त्यसैले तपाईंहरूलाई सुध्रिनुस् भन्न चाहन्छु। अझै पनि समय छ, सुध्रिनुस्।’

‘राजनीति सिक्न होइन, सिकाउन आएका हौँ’

गृहमन्त्री गुरुङको सबैभन्दा विवादित अभिव्यक्तिमध्ये एक थियो–

‘वी आर हियर टु टिच पोलिटिक्स। हामी राजनीति सिक्न आएको होइन, सिकाउन आएको हो।’

उनले पुराना राजनीतिक दलहरूले जनतामाथि शासन गर्न सिकाएको आरोप लगाउँदै आफूहरू सेवा गर्न आएको बताएका थिए।

‘वी केम हियर टु चेन्ज ट्रेडिसन,’ उनले भनेका थिए, ‘टीका लगाएर आएको होइन हामी। चुनाव जितेर, दुई तिहाइको बहुमत ल्याएको सरकार हो, चेतना भया।’

उनले अंग्रेजीमै ‘यु मेस्ड विथ द रङ जेनेरेसन’ भन्दै पुराना दललाई चुनौतीसमेत दिएका थिए।

‘अर्को गोली मेरो शिरबाट मात्र जान्छ’

कार्यक्रममा गुरुङले अर्को अत्यन्त भावनात्मक र कडा अभिव्यक्तिसमेत दिएका थिए।

‘हाम्रो माग पूरा नहुन देशमा अब अर्को एउटा गोली चल्नुपर्छ, त्यो गोली मेरो शिरबाट मात्र हुन्छ,’ उनले भनेका थिए।

उनले आफूलाई ‘मन्त्री, दाइ, भाइ, छोरा’का रूपमा प्रस्तुत गर्दै आफूलाई ढाल्न सक्ने एकमात्र शक्ति अर्को गोली भएको बताएका थिए।

‘तर अर्को गोली चलाउन यो देशमा कसैको हिम्मत छैन,’ उनले भनेका थिए।

पत्रकारलाई पनि ‘सुध्रिन’ चेतावनी

गृहमन्त्री गुरुङले आफ्नो भाषणमा पत्रकारहरूलाई समेत सन्देश दिएका थिए।

उनले अधिकांश पत्रकारको योगदानप्रति सम्मान रहेको बताए पनि ‘३–४ जना’ पत्रकारलाई लक्षित गर्दै भनेका थिए–

‘तपाईंहरूको पार्टीसँगै तपाईंहरू पनि सुध्रिनुस् भन्न चाहन्छु।’

यही अभिव्यक्तिले प्रेस स्वतन्त्रता र सत्ताको आलोचना गर्ने अधिकारमाथि समेत प्रश्न उठाएको भन्दै पार्टीभित्रै असन्तुष्टि देखिएको हो।

सत्ताभित्रै आत्मसमीक्षाको संकेत

गृहमन्त्री गुरुङको भाषणपछि आएको रास्वपा नेताहरूको प्रतिक्रियाले पार्टीभित्र सत्ता सञ्चालनको शैली, राजनीतिक भाषा र आलोचना सहने क्षमताबारे बहस सुरु भएको संकेत गरेको छ।

पुराना दललाई सुधारको पाठ सिकाउने दाबी गरिरहेको नयाँ राजनीतिक शक्तिले आफूमाथि उठेका प्रश्नलाई कसरी ग्रहण गर्छ भन्ने विषय अब पार्टीभित्रकै बहसको केन्द्रमा आउने देखिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.