Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 02:37:36
Bizshala
Global IME Bank Limited

चिलिमे सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको प्राविधिक साथ

चिलिमे सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको प्राविधिक साथ
New Office

 

काठमाण्डौ । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङ तथा पावर हाउस क्षेत्रमा जारी खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन नेपाली सेनाले पूर्वऊर्जामन्त्री तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको प्राविधिक सहयोग मागेको छ।

विदेशी विज्ञसहितको उद्धार टोलीलाई पावर हाउससम्म पुग्ने मार्ग, सुरुङको संरचना र सम्भावित जोखिमबारे आवश्यक प्राविधिक समन्वय तथा सुझावका लागि सेनाले घिसिङलाई बोलाएको हो।

घिसिङको सचिवालयका अनुसार सेनाको आग्रहपछि उनी बुधबार चिलिमे जलविद्युत् आयोजनाकै सवारीसाधनमा रसुवातर्फ प्रस्थान गरेका छन्।

भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको थियो। केही आयोजनाका सुरुङ तथा पावर हाउस क्षेत्रमा कामदार र अन्य व्यक्ति फसेको आशंकामा सुरुदेखि नै खोज तथा उद्धार कार्य जारी छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

विदेशी विज्ञसहितको टोलीलाई प्राविधिक सहजीकरण

चिलिमे क्षेत्रमा विदेशी प्राविधिक तथा उद्धार विज्ञसहितको टोली परिचालन गरिएको छ।

टोलीलाई सुरुङको आन्तरिक संरचना, पावर हाउससम्म पुग्ने सम्भावित पहुँचमार्ग, पानी तथा लेदोको अवस्था र विद्युत् आयोजनाका प्राविधिक संरचनाबारे बुझ्न अनुभवी जनशक्तिको आवश्यकता परेपछि सेनाले घिसिङको सहयोग मागेको बताइएको छ।

नेपालको जलविद्युत् तथा विद्युत् पूर्वाधार क्षेत्रमा लामो अनुभव भएका घिसिङले प्राविधिक टोलीसँग समन्वय गरी उद्धार कार्यलाई सहज बनाउन सुझाव दिने अपेक्षा गरिएको छ।

९ मध्ये सात आयोजनामा खोज तथा उद्धार

भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नौ जलविद्युत् आयोजनामध्ये सातवटामा अहिले पनि खोज तथा उद्धारको काम भइरहेको छ।

बाढीले सुरुङ, पावर हाउस, पहुँचमार्ग तथा अन्य संरचनामा ठूलो मात्रामा लेदो, ढुंगा र भग्नावशेष थुपारेकाले कतिपय क्षेत्रमा उद्धार टोलीलाई प्रवेश गर्न कठिन भइरहेको छ।

यही कारण उद्धार अभियानमा नेपाली सेनासँगै प्राविधिक विज्ञ, आयोजना प्रवर्द्धक तथा विदेशी टोलीको समेत सहयोग लिइएको हो।

बाढीमा परी हालसम्म १ हजार ३६७ जनाको मृत्यु भएको र चार हजारभन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको विवरण सार्वजनिक भएको छ।

चिलिमे क्षेत्रमा घिसिङको सहभागितापछि सुरुङ र पावर हाउसभित्रको पहुँचबारे नयाँ प्राविधिक रणनीति तय हुने अपेक्षा गरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.