काठमाण्डौ । लामो समयदेखि खाना पकाउने एलपी ग्यासको अभाव चर्किँदै गएपछि विद्यार्थीहरू सिलिन्डर बोकेरै सिंहदरबार घेराउ गर्न पुगेका छन्।
ग्यास सहज रूपमा नपाउँदा सर्वसाधारणको दैनिकी प्रभावित भइरहेको र होटल तथा रेस्टुरेन्टसमेत सञ्चालनमा समस्या देखिन थालेको भन्दै नेकपानिकट अखिल क्रान्तिकारीले बुधबार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले खाली तथा प्रयोगमा रहेका ग्यास सिलिन्डर बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूले ग्यास अभावका कारण विद्यार्थी, डेरामा बस्ने सर्वसाधारण, साना व्यवसायी तथा होटल सञ्चालक सबैभन्दा बढी मारमा परेको बताएका छन्।
प्रदर्शनकारीहरूले बजारमा पर्याप्त ग्यास आपूर्ति गर्न, कृत्रिम अभाव नियन्त्रण गर्न र कालोबजारीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
उनीहरूले सरकारसँग ग्यास आपूर्तिको वास्तविक अवस्था सार्वजनिक गर्न र उपभोक्ताले सहज रूपमा सिलिन्डर पाउने व्यवस्था तत्काल मिलाउन आग्रहसमेत गरेका छन्।
एक महिनादेखि ग्यास अभाव रहेको भन्दै विद्यार्थीहरूले समस्या समाधानमा सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार नियमित आपूर्ति नहुँदा उपभोक्ता घण्टौँ लाइन बस्न बाध्य भएका छन् भने कतिपय स्थानमा बढी मूल्य तिरेर ग्यास किन्नुपर्ने अवस्था सिर्जना भएको छ।
ग्यास अभाव लम्बिँदै जाँदा राजधानीका केही होटल तथा भोजनालयसमेत सञ्चालन गर्न कठिन भइरहेको गुनासो आउन थालेको छ।
विद्यार्थीहरूले ग्यासजस्तो अत्यावश्यक वस्तुको आपूर्तिमा देखिएको समस्या तत्काल समाधान नगरे थप दबाबमूलक कार्यक्रम गर्ने चेतावनीसमेत दिएका छन्।
सिलिन्डर बोकेरै सिंहदरबारसम्म पुगेको प्रदर्शनले सरकारमाथि ग्यास संकट समाधानका लागि थप दबाब सिर्जना गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।