Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 07:00:05
Bizshala
Global IME Bank Limited

देउवाको दाबी : ‘सर्वोच्चले निस्सा दिएसँगै आधाभन्दा बढी जितिसक्यौँ, कांग्रेसको आधिकारिकता हामीले पाउँछौँ’

देउवाको दाबी : ‘सर्वोच्चले निस्सा दिएसँगै आधाभन्दा बढी जितिसक्यौँ, कांग्रेसको आधिकारिकता हामीले पाउँछौँ’
New Office

 

काठमाण्डौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएको घटनालाई आफ्नो पक्षको ‘आधाभन्दा बढी विजय’ का रूपमा व्याख्या गरेका छन्।

बुधबार कांग्रेस भक्तपुरले १३३ औँ बीपी जयन्तीका अवसरमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै देउवाले सर्वोच्च अदालतबाट आफूहरूले अन्ततः न्याय पाउने विश्वास व्यक्त गरे।

उनले कांग्रेसको रुख चुनाव चिन्ह र चारतारे झण्डासहित पार्टीको आधिकारिकता आफ्नै पक्षले पाउने दाबीसमेत गरे।

देउवाले भने, ‘पुनरावलोकनले हामीलाई निस्सा दिएको छ। निस्सा दिएपछि हाम्रो आधाभन्दा बढी विजय भइसक्यो।’

निर्वाचन आयोगमाथि दबाबमा निर्णय गरेको आरोप

देउवाले कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा निर्वाचन आयोगले दबाबमा परेर निर्णय गरेको आरोप लगाए।

विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएपछि आफूहरू अदालत गएको उल्लेख गर्दै उनले निर्वाचन आयोगका प्रमुखले नै ‘ज्यानको खतरा’ रहेको अभिव्यक्ति दिएको दाबी गरे।

उनले भने, ‘निर्वाचन आयोगको प्रमुखले ज्यानको खतरा भएर गर्नुपर्‍यो भनेको छ। मैले भनेको होइन, सबैले सुनेको कुरा हो। त्यत्रो त्रासमा निर्वाचन आयोगको प्रमुख नै डरायो।’

देउवाले आयोगको निर्णयपछि आफूहरू सर्वोच्च अदालत पुगेको र प्रारम्भिक चरणमा अपेक्षित फैसला नआएपछि पुनरावलोकनमा गएको बताए।

उनका अनुसार पुनरावलोकनका लागि निस्सा प्राप्त हुनु नै मुद्दाको गम्भीर पुनःपरीक्षण हुने संकेत हो।

‘आधिकारिकता रोक्ने प्रयास भइरहेको छ’

देउवाले अहिले पनि आफूहरूको पक्षमा आउन सक्ने निर्णय रोक्न विभिन्न प्रयास भइरहेको आरोप लगाए।

‘नेपाली कांग्रेसको आधिकारिकता हामीले पाउनुपर्ने कुरा कुनै पनि हालतमा रोक्ने कोसिस भइरहेको छ,’ उनले भने, ‘तर हामी कुनै हालतमा मान्दैनौँ।’

उनले सर्वोच्च अदालतप्रति आफ्नो पुरानो विश्वाससमेत स्मरण गरे।

पञ्चायतकालदेखि राजा ज्ञानेन्द्रको शासनसम्म कठिन राजनीतिक अवस्थामा अदालतबाट न्याय पाएको उदाहरण दिँदै देउवाले अहिले पनि सर्वोच्चले निष्पक्ष फैसला गर्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘सर्वोच्च अदालतप्रति मलाई विश्वास छ। जसरी निष्पक्ष रूपमा हामीलाई निस्सा दिएको छ, त्यसैगरी रुख चिन्ह, चारतारे झण्डा र नेपाली कांग्रेसको आधिकारिकता पनि हामीले पाउनेछौँ भन्ने विश्वास छ।’

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

विशेष महाधिवेशनमै देउवाको आपत्ति

देउवाले पार्टी विधानमा विशेष अधिवेशन बोलाउने व्यवस्था रहेको स्वीकार गरे पनि त्यसका लागि आवश्यक प्रक्रिया पालना हुनुपर्ने बताए।

उनले विगतमा सुवर्णशमशेर सभापति हुँदा विशेष अधिवेशन बोलाइएको स्मरण गर्दै त्यसबेला प्रतिनिधिहरूको विस्तृत सनाखत गरिएको उल्लेख गरे।

तर पछिल्लो विशेष महाधिवेशनमा त्यस्तो प्रक्रिया पालना नभएको उनको आरोप छ।

देउवाका अनुसार विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको जिल्ला, निर्वाचन क्षेत्र, गाउँपालिका र पार्टी सदस्यताको स्पष्ट सनाखत हुनुपर्ने थियो।

‘त्यो सदस्य हो कि होइन, सनाखत हुनुपर्‍यो। खल्तीबाट नाम राखेर विशेष अधिवेशन गर्न पाइन्छ ?’ भन्दै उनले प्रश्न गरे।

उनले गगन थापाले विशेष अधिवेशन बोलाउनुपर्ने प्रस्ताव राख्दा आफूले त्यसको अधिकार रहेको तर प्रक्रिया पूरा गर्नुपर्ने बताएको स्मरण गरे।

आफू पार्टी सभापति हुँदाहुँदै जानकारीसमेत नदिई विशेष महाधिवेशन बोलाइएको देउवाको दाबी छ।

सर्वोच्चप्रति पुरानै भरोसा

देउवाले आफ्नो राजनीतिक जीवनका विगतका घटनाहरू स्मरण गर्दै अदालतप्रतिको भरोसा दोहोर्‍याए।

राजा ज्ञानेन्द्रको शासनकालमा आफू जेल परेका बेला पनि सर्वोच्च अदालतले न्याय दिएको स्मरण गर्दै उनले अहिले पनि राजनीतिक दबाबभन्दा माथि उठेर अदालतले फैसला गर्ने विश्वास व्यक्त गरे।

देउवाको यो अभिव्यक्तिसँगै नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद अब पुनः सर्वोच्च अदालतको पुनरावलोकन प्रक्रियामा केन्द्रित भएको छ। अदालतको अन्तिम निर्णयले रुख चुनाव चिन्ह, चारतारे झण्डा र पार्टीको आधिकारिक नेतृत्व कसले पाउने भन्ने विवादको टुंगो लगाउने अपेक्षा गरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.