काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले १२औँ वार्षिक साधारणसभा आगामी असोज १६ गते आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको भदौ २४ गते बसेको १०२औँ बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार साधारणसभा असोज १६ गते शुक्रबार बिहान साढे ११ बजे जर्मन होम्स होटल, मध्यपुर ठिमी, गठाघर, भक्तपुरमा बस्नेछ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण तथा आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावलगायतका सामान्य प्रस्तावमाथि छलफल गरी निर्णय गरिनेछ।
त्यस्तै, कम्पनीले सभामा ८.५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव विशेष प्रस्तावका रूपमा पेस गर्ने भएको छ।
कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजी ६८ करोड ३५ लाख ५० हजाररुपैयाँ बराबर कायम हुने जनाएको छ। सोही चुक्ता पूँजीका आधारमा १ः१ अनुपातमा शतप्रतिशत अर्थात प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ६८ लाख ३५ हजार ५०० कित्ता हकप्रद सेयर हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरिएको छ।
कम्पनीले आफ्नो व्यावसायिक कार्यक्षेत्र विस्तार तथा लगानी विविधीकरण गर्ने उद्देश्यले कृषि, जलविद्युत्, सूचना प्रविधि तथा उत्पादनमूलक क्षेत्र मा लगानी तथा व्यवसाय सञ्चालन गर्न सक्ने गरी कम्पनीको प्रबन्धपत्रमा उद्देश्य थप तथा परिमार्जन गर्ने प्रस्तावसमेत अघि सारेको छ।
बोनस तथा हकप्रद सेयर निष्कासनपछि हुने पुँजी वृद्धिलाई समायोजन गर्न कम्पनीको अधिकृत तथा चुक्तापूँजी वृद्धि गर्ने र सोअनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
त्यसैगरी, प्रबन्धपत्र तथा नियमावली संशोधन, हकप्रद सेयर निष्कासन तथा कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्डलगायत नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट वा संशोधन गर्न निर्देशन आएमा सोहीअनुसार आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि विशेष प्रस्तावमा समावेश गरिएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज ८ गते नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।