काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो लगानीलाई क्षेत्रगत रूपमा विविधीकरण गर्दै दीर्घकालीन लगानी विस्तार गर्ने भएको छ। कम्पनीको २३५औँ सञ्चालक समितिको बैठकले दुई छुट्टाछुट्टै कम्पनीमा कुल ४० करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार भदौ २४ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले विजयश्री सुगर मिल्स लिमिटेडमा प्रतिसेयर १०० रुपैयाँका दरले २५ लाख कित्ता संस्थापक सेयर खरिद गर्ने निर्णय गरेको छ। उक्त लगानीका लागि कम्पनीले अधिकतम २५ करोड रुपैयाँ विनियोजन गर्नेछ।
त्यसैगरी, भिजन टेस्ला पावर प्रालिले प्रवर्द्धन गरेको संखुवासभा जिल्लाको मकालु गाउँपालिकामा निर्माणाधीन इन्दुवा खोला हाईड्रोपावरमा पनि हाथवे इन्भेष्टमेन्टले लगानी गर्ने भएको छ।
२४.९२१ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा प्रतिसेयर १०० रुपैयाँका दरले १५ लाख कित्ता संस्थापक सेयरमा अधिकतम १५ करोड रुपैयाँ लगानी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।
यससँगै कम्पनीले चिनी उद्योग तथा जलविद्युत् क्षेत्रमा गरी कुल ४० करोड रुपैयाँसम्मको संस्थापक सेयर लगानी विस्तार गर्ने भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।