काठमाण्डौ । राजधानीमा खाना पकाउने एलपी ग्यासको अभाव चर्किरहेका बेला प्रहरीले काठमाडौँको तीनकुनेस्थित गैरीगाउँबाट एकैपटक ७०५ वटा ग्यास सिलिन्डर बरामद गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठूला ट्रकमा लोड गरिएको अवस्थामा उक्त परिमाणको ग्यास फेला पारेको हो।
ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले बसुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइँटेललाई पक्राउ गरेको छ।
३८ वर्षीय लुइँटेल मोरङको ग्रामथान गाउँपालिका–२ का स्थानीय हुन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार लुइँटेलले बसुन्धारामा ग्यास स्टोर सञ्चालन गर्दै आएका थिए र उनले उपभोक्तालाई प्रतिसिलिन्डर २ हजार ७५० रुपैयाँसम्ममा ग्यास बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार बरामद भएका सबै सिलिन्डर नेपाल ग्यास कम्पनीका हुन्।
नयाँ सिलिन्डर ५ हजारसम्ममा बिक्री
प्रहरी अनुसन्धानमा लुइँटेलले ग्यास मात्रै महँगोमा बिक्री नगरी नयाँ सिलिन्डरसमेत बढी मूल्यमा बेच्ने गरेको पाइएको छ।
एसपी कार्कीका अनुसार उनले नयाँ सिलिन्डर ५ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेका थिए।
बजारमा ग्यास अभाव देखाएर उपभोक्तालाई महँगो मूल्य तिर्न बाध्य बनाउने गरिएको आशंकामा प्रहरीले पछिल्लो समय काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा छापा तथा निगरानी बढाएको छ।
बजारमा अभाव, ट्रकमा सयौँ सिलिन्डर
उपभोक्ता ग्यास खोज्दै विभिन्न डिपो र बिक्री केन्द्र धाउन बाध्य भइरहेका बेला दुई ठूला ट्रकमा सयौँ सिलिन्डर फेला पर्नुले कृत्रिम अभाव सिर्जना गरिएको आशंकालाई थप बल दिएको छ।
यसअघि पनि काठमाडौँको नरेफाँट र सामाखुसीबाट ३७२ सिलिन्डर तथा भक्तपुरका विभिन्न स्थानबाट १०३ सिलिन्डर बरामद भएका थिए।
त्यससँगै गैरीगाउँबाट बरामद ७०५ सिलिन्डर जोड्दा पछिल्ला कारबाहीमा ठूलो परिमाणमा ग्यास नियन्त्रणमा आएको छ।
प्रहरीले बरामद ग्यास कहाँबाट ल्याइएको थियो, कुन उद्देश्यले ट्रकमा राखिएको थियो, अन्य व्यक्ति वा कारोबारीको संलग्नता छ कि छैन र कालोबजारीको नेटवर्क कति ठूलो छ भन्ने विषयमा थप अनुसन्धान गरिरहेको छ।
बजारमा ग्यास अभाव भइरहेका बेला ठूलो परिमाणमा सिलिन्डर लुकाएर वा नियन्त्रणमा राखी बढी मूल्यमा बिक्री गर्ने गतिविधि भेटिएपछि प्रहरीले यस्ता कारोबारीविरुद्ध कारबाही थप कडा बनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।