काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाम अर्थात् हिउँदमा काठमाडौँ उपत्यकालगायत क्षेत्रमा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि तयारी तीव्र बनाएको छ।
हिउँदमा विद्युत् माग र आपूर्तिबीच सन्तुलन कायम राख्ने विषयमा मंगलबार प्राधिकरणमा बसेको बैठकले आवश्यक अध्ययन तथा पूर्वतयारीका कामलाई तीव्रता दिने निर्णय गरेको हो।
रसुवा जिल्लास्थित भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् केन्द्रमा क्षति पुगेपछि विद्युत् उत्पादन प्रभावित भएको छ। यही अवस्थालाई ध्यानमा राख्दै प्राधिकरणले आगामी हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन अग्रिम तयारी थालेको हो।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा आयोजना व्यवस्थापन निर्देशनालय तथा प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक, विभिन्न विभागका प्रमुख तथा आयोजना प्रमुखहरू सहभागी थिए।
बैठकले हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक अध्ययन र कार्य अघि बढाउन बागमती प्रादेशिक कार्यालयका निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।
समितिलाई दैनिक कार्यप्रगति विवरण कार्यकारी निर्देशकसमक्ष पेस गर्न तथा कार्यान्वयनका क्रममा देखिएका समस्या तत्काल जानकारी गराउन निर्देशन दिइएको छ।
बैठकमा कार्यकारी निर्देशक श्रेष्ठले त्रिशूली नदी बेसिनका विद्युत् केन्द्रबाट उत्पादन बन्द हुँदा माग र आपूर्ति व्यवस्थापनमा केही चाप देखिए पनि आगामी हिउँदमा लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे।
उनले विद्युत् आपूर्ति नियमित र भरपर्दो बनाउन आवश्यक तयारी अहिलेबाटै अघि बढाइएको बताए।
बैठकले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा निर्माणाधीन प्रसारण तथा वितरणसम्बन्धी आयोजनाहरू सम्पन्न गर्न समयसीमा समेत निर्धारण गरेको छ।
त्यस्तै, बाढीबाट प्रभावित नुवाकोट र रसुवाको विद्युत् आपूर्ति थप भरपर्दो बनाउन विभिन्न विकल्पबारे छलफल गर्दै आवश्यक प्रक्रिया अघि बढाउने निर्णय भएको छ।
बाढीबाट क्षतिग्रस्त देवीघाट सबस्टेसन पुनः सञ्चालनमा ल्याउन सकिने सम्भावनाबारे स्थलगत अध्ययन गर्न प्राधिकरणले टोलीसमेत परिचालन गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।