बुधबार, आश्विन ७,२०८३ 06:07:19
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 06:07:19
Bizshala
Global IME Bank Limited

भारी वर्षाको जोखिममा सरकारको तयारी : घण्टा–घण्टामा पूर्वसूचना, सुरक्षा निकाय ‘हाई अलर्ट’मा

Bizshala
भारी वर्षाको जोखिममा सरकारको तयारी : घण्टा–घण्टामा पूर्वसूचना, सुरक्षा निकाय ‘हाई अलर्ट’मा
New Office

 

काठमाण्डौ । सम्भावित भारी वर्षा र त्यसबाट निम्तिन सक्ने बाढी, पहिरो तथा अन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै सरकारले पूर्वतयारी तीव्र बनाएको छ। नदीको जलसतह र जोखिमको अवस्था निरन्तर निगरानी गर्दै सर्वसाधारणलाई घण्टा–घण्टामा पूर्वसूचना अद्यावधिक गरिने भएको छ।

आगामी शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वसूचना प्रणालीलाई थप सक्रिय बनाएको हो।

प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग समन्वय गरी नदीहरूको जलसतह र जोखिमको अवस्था ‘रियल टाइम’मा निगरानी गरिनेछ।

कुन नदीमा बाढी कहिले खतराको तहमा पुग्न सक्छ र त्यसबाट कुन क्षेत्रमा कस्तो प्रभाव पर्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरी हरेक घण्टा सूचना अद्यावधिक गरिने उनले बताएका छन्।

‘पानी कति परिरहेको छ भन्ने विवरण हामी रियल टाइममा हेर्छौँ। नागरिकको मोबाइलमा आउने एसएमएस अलर्टलाई गम्भीरतापूर्वक लिन अनुरोध गर्दछु,’ उप्रेतीले भने।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

हिमाली क्षेत्रमा ‘रेड अलर्ट’

समुद्रमा विकसित हुने ठूलो आँधी अर्थात् साइक्लोन प्रणाली र त्यसको दिशामा हुन सक्ने परिवर्तनलाई समेत प्राधिकरणले निगरानी गरिरहेको जनाएको छ।

मौसम प्रणाली तीव्र रूपमा परिवर्तन हुन सक्ने र उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले त्यस्ता क्षेत्रमा ‘रेड अलर्ट’ जारी गरिएको छ।

मध्यपहाडी तथा तल्लो तटीय क्षेत्रमा भने मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएको छ।

जोखिमयुक्त हिमाली तथा पहाडी क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा झर्न आग्रह गरिएको छ। ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न तथा हेलिकप्टर उडानसम्बन्धी पूर्वतयारीमा उच्च सतर्कता अपनाउनसमेत एडभाइजरी जारी गरिएको छ।

जोखिम बढे सडक नै बन्द गर्न सकिने

विपद्को जोखिम अत्यधिक बढे राजमार्ग तथा सडकमा सवारी आवागमन पूर्ण रूपमा रोक्न सकिने प्राधिकरणले जनाएको छ।

शुक्रबार र शनिबार अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गर्ने तथा यातायात व्यवसायीलाई समेत सेवा सञ्चालन नगर्न अनुरोध गर्ने तयारी गरिएको उप्रेतीले जानकारी दिए।

पहिरोका कारण मुख्य राजमार्ग अवरुद्ध हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सडक तत्काल खुलाउन विभिन्न स्थानमा डोजर ‘स्ट्यान्डबाई’ राखिएको छ।

सुरक्षा निकाय ‘हाई अलर्ट’मा

सम्भावित विपद् प्रतिकार्यका लागि देशभरका सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ।

७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सहभागी कमाण्ड पोस्टमार्फत मौसमी अवस्थाको प्रत्यक्ष निगरानी तथा उद्धार र प्रतिकार्यको तयारी भइरहेको प्राधिकरणले जनाएको छ।

किसानलाई पनि सतर्क रहन आग्रह

भारी वर्षाले कृषि क्षेत्रमा समेत ठूलो क्षति पुर्‍याउन सक्ने भएकाले खेतमा पाकेको धानबाली तथा भण्डारण गरिएको अन्न सुरक्षित राख्न किसानलाई आग्रह गरिएको छ।

यससम्बन्धी छुट्टै एडभाइजरी कृषि मन्त्रालयमार्फत जारी भइसकेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले बाढी आएको समयमा भिडियो खिच्न, टिकटक बनाउन वा सामाजिक सञ्जालका लागि सामग्री बनाउने क्रममा आफ्नो ज्यान जोखिममा नपार्न सर्वसाधारणलाई चेतावनी दिएको छ।

त्यस्तै, बाढीले बगाएर ल्याएका दाउरा वा अन्य सामग्री संकलन गर्न नदी तथा खोलामा पस्नु अत्यन्त जोखिमपूर्ण हुने भन्दै यस्ता गतिविधि नगर्न पनि आग्रह गरिएको छ।

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै सरकारले पूर्वसूचना, सुरक्षा परिचालन, सडक व्यवस्थापन, पर्यटक सुरक्षा र विपद् प्रतिकार्यलाई एकसाथ अघि बढाएको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.