काठमाण्डौ । लगातारको वर्षाका कारण काठमाडौं उपत्यकालाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख सडक मार्गहरू अवरुद्ध भएका छन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथमा ठाउँठाउँमा पहिरो खसेपछि सवारी आवागमन रोकिएको छ।
वर्षा जारी रहेकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जोखिमलाई मध्यनजर गर्दै ती राजमार्गमा सवारी सञ्चालनमा रोक लगाएका छन्।
काठमाडौंका लागि ‘लाइफलाइन’ मानिने त्रिभुवन राजपथ भने अत्यावश्यक सामग्री आपूर्तिका लागि एकतर्फी रूपमा मात्रै सञ्चालनमा राखिएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मकवानपुरतर्फबाट काठमाडौं भित्रिने सवारीलाई मात्रै त्रिभुवन राजपथ प्रयोग गर्न दिइएको छ। काठमाडौं हुँदै बाहिरिने सवारीलाई भने यो सडक प्रयोग गर्न रोकिएको छ।
अत्यावश्यक खाद्यान्न, इन्धन तथा अन्य सामग्री काठमाडौं भित्र्याउन सहज होस् भन्ने उद्देश्यले हेटौँडा–नौबिसे–काठमाडौं खण्ड एकतर्फी खुला राखिएको प्रहरीले जनाएको छ।
ठूला सवारीका लागि मुख्य राजमार्गहरू अवरुद्ध रहे पनि साना सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन्। प्रहरीका अनुसार हेटौँडा–भिमफेदी–कुलेखानी–फाखेल–फर्पिङ तथा कुलेखानी–सिस्नेरी–फर्पिङ सडकबाट साना सवारी काठमाडौं आउजाउ गर्न सक्नेछन्।
यी सडक साँघुरा र जोखिमयुक्त भएकाले ठूला मालवाहक सवारी चल्न नसक्ने प्रहरीले जनाएको छ। केही वैकल्पिक सडकमा रातिको समयमा सवारी सञ्चालनमा समेत रोक लगाउने गरिएको छ।
त्यस्तै, साना सवारीका लागि टोखा–छहरे र साँखु हुँदै काठमाडौं आउजाउ गर्ने मार्ग पनि खुला रहेको ट्राफिक प्रहरीले जनाएको छ।
तर, काठमाडौं उपत्यकाको खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक सामग्रीको आपूर्तिका लागि हाल त्रिभुवन राजपथ नै मुख्य विकल्प बनेको छ।
लगातारको वर्षाका कारण पहिरो, लेदो र सडक भासिने जोखिम कायमै रहेकाले यात्रुलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न तथा प्रशासन र ट्राफिक प्रहरीले जारी गर्ने सूचना पालना गर्न आग्रह गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।