काठमाण्डौ । नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई नियन्त्रणमा लिइएको घटनाबारे सरकारले स्पष्ट कानुनी आधार र औचित्य सार्वजनिक गर्नुपर्ने माग गरेको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले राणाको गिरफ्तारीबारे सरकारी अधिकारीहरूबाटै फरक–फरक धारणा सार्वजनिक हुनु गम्भीर विषय भएको बताएका छन्। यदि उनलाई कानुनसम्मत र आवश्यक आधारमा नियन्त्रणमा लिइएको हो भने त्यसको स्पष्ट कारण सरकारले सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।
विशेष सुरक्षा चुनौती वा अन्य असाधारण परिस्थितिका कारण राणालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो भने त्यसको विश्वसनीय आधारसमेत राज्यले खुलाउनुपर्ने चालिसेले बताएका छन्।
कांग्रेस अपराध अनुसन्धान वा कानुन कार्यान्वयनको विपक्षमा नरहेको उल्लेख गर्दै उनले कानुन कार्यान्वयनका नाममा अस्पष्ट र अन्योलपूर्ण प्रक्रिया स्वीकार्य नहुने धारणा राखेका छन्।
उनले कानुनको शासनको अर्थ राज्यले नागरिकमाथि कानुन प्रयोग गर्नु मात्रै नभई राज्यका सबै निकाय स्वयं पनि संविधान र कानुनको सीमाभित्र रहनु भएको बताएका छन्।
कसैले कानुन उल्लंघन गरेको भए निष्पक्ष अनुसन्धान हुनुपर्ने, प्रमाणका आधारमा कारबाही अगाडि बढाउनुपर्ने र दोषी ठहरिए कानुनअनुसार सजाय हुनुपर्ने कांग्रेसको धारणा छ। तर गिरफ्तारी आफैंमा दोष प्रमाणित भएको अवस्था नभएको चालिसेको भनाइ छ।
राज्यसँग शक्ति हुने भएकाले त्यसको प्रयोग अझ बढी पारदर्शी, न्यायोचित र जवाफदेही हुनुपर्ने उनले बताएका छन्। सबै नागरिकका लागि कानुन समान रहेको विश्वास व्यवहारबाटै स्थापित गर्नुपर्ने कांग्रेसको भनाइ छ।
पूर्वप्रधानन्यायाधीश राणालाई आइतबार बिहान करिब ३ बजे प्रहरीले निवासबाट नियन्त्रणमा लिएको थियो। घटनापछि प्रहरीले उनलाई ‘सुरक्षा चुनौती’का कारण कार्यालयमा ल्याइएको बताइरहेको अवस्थामा कांग्रेसले त्यसको कानुनी आधार र वास्तविक कारण स्पष्ट गर्न माग गरेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।