काठमाण्डौ । अविरल वर्षापछि मनाङको चामेमा पहिरो र लेदोसहित आएको ढुङ्गा, गिट्टी तथा बालुवा थुप्रिएर थुनिएको मर्स्याङ्दी नदीबाट पानी बग्न थालेको छ ।
नासोँ गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार नदी थुनिएर बनेको तालबाट सोमबार बिहानदेखि आंशिक रूपमा पानी ओभरफ्लो भएर बग्न थालेको हो ।
मनाङ सदरमुकाम चामेबजार नजिकै घट्टेखोलामा आएको पहिरोका कारण मर्स्याङ्दी नदी थुनिएको थियो । नदीको बहाव अवरुद्ध भएपछि चामेबजारका केही क्षेत्र डुबानमा परेका थिए ।
जोखिम बढेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको थियो । प्रभावित क्षेत्रका केही स्थानीय नेपाली सेनाको नयाँ भैरवी दल गुल्म, सामुदायिक भवन तथा अन्य सार्वजनिक स्थानमा आश्रय लिएर बसेका थिए ।
बाढीको बहाव घट्न थालेपछि स्थानीयहरू सोमबार बिहानदेखि आफ्ना घर तथा गाउँमा पुगेको क्षतिको अवस्था बुझ्न थालेका छन् ।
मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार थुनिएको मर्स्याङ्दी नदीको पानी क्रमशः बाहिरिन थालेको छ । पानीको बहाव थप सहज बनाउन स्काभेटर प्रयोग गर्ने विषयमा समेत छलफल भइरहेको उनले बताए ।
अविरल वर्षा र बाढीका कारण मनाङ तथा लमजुङको सीमा क्षेत्रमा पर्ने तालबजारमा समेत क्षति पुगेको छ ।
प्रशासनले मर्स्याङ्दी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई अझै सतर्क रहन आग्रह गरेको छ ।
निरन्तर वर्षाका कारण ठाडो खोला र घट्टेखोलामा आएको बाढीले आसपासका क्षेत्रमा कटान गर्नुका साथै घर, पुल तथा सडकमा समेत क्षति पुर्याएको छ ।
यसअघि २०७८ साल जेठ र असारमा पनि घट्टेखोला, ठाडो खोला र मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङमा ठूलो भौतिक क्षति पुर्याएको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।