काठमाण्डौ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नेपाल प्रहरीका २८ कर्मचारीका परिवारलाई विशेष राहत उपलब्ध गराइने भएको छ।
नेपाल प्रहरीको नीति निर्माण समितिको उच्चस्तरीय बैठकले बाढीबाट प्रत्यक्ष प्रभावित प्रहरी कर्मचारीका सन्ततिलाई प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने निर्णय गरेको हो।
भदौ १० गते आएको विनाशकारी बाढीका बेला कर्तव्यपालनामा खटिएका प्रहरी कर्मचारी तथा उनीहरूका परिवार प्रभावित भएपछि दीर्घकालीन राहत र पुनःस्थापनालाई लक्षित गरेर यस्तो निर्णय गरिएको प्रहरीले जनाएको छ।
बैठकले प्रभावित प्रहरी परिवारका सदस्यलाई जीविकोपार्जनमा सहयोग पुग्ने गरी सीपमूलक तथा व्यावसायिक तालिम दिने निर्णय पनि गरेको छ। तालिमपछि रोजगारीको उचित व्यवस्था मिलाउने तयारीसमेत गरिएको छ।
नेपाल प्रहरीले जोखिमपूर्ण अवस्थामा राष्ट्र र जनताको सुरक्षामा खटिएका प्रहरी कर्मचारीको त्याग र समर्पणको मूल्याङ्कन गर्दै परिवारको शिक्षा, सीप र रोजगारीलाई एकीकृत रूपमा सम्बोधन गर्ने गरी राहत कार्यक्रम अघि बढाएको जनाएको छ।
यससँगै प्रभावित २८ प्रहरी परिवारका सन्ततिले प्राथमिक तहदेखि उच्च शिक्षासम्म निःशुल्क अध्ययन गर्न पाउनेछन् भने परिवारका अन्य सदस्यलाई आयआर्जनसँग जोड्न व्यावसायिक तालिम र रोजगारीको अवसर उपलब्ध गराइनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।