काठमाण्डौ । अमेरिकामा डिजेलको अभाव र मूल्यवृद्धि बढिरहेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजेल निर्यातमा प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेका छन्।
ट्रम्पले युरोपेली देशहरूसँग मौज्दातमा रहेको डिजेलको केही हिस्सा बजारमा पठाउन आग्रह गर्न सकिने संकेत दिएका छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले युरोपलाई आफ्नो डिजेल भण्डार सुरक्षित राख्न र आवश्यक परेको अवस्थामा बजारमा उपलब्ध गराउन आग्रह गरेपछि ट्रम्पको यस्तो भनाइ आएको हो।
बढ्दो डिजेल मूल्यको असर अमेरिकी किसान, ट्रक चालक तथा व्यवसायीहरूमा पर्न नदिन आवश्यक कदम चाल्नुपर्ने बेसेन्टको भनाइ छ।
इरानसँगको युद्धका कारण विश्व बजारमा इन्धनको मूल्य बढिरहेका बेला अमेरिकाले डिजेल निर्यातमा प्रतिबन्ध लगाउने सम्भावना अघि सारेको हो। अमेरिकामा हुन लागेको मध्यावधि निर्वाचनअघि इन्धनको मूल्य र आपूर्ति अमेरिकी मतदाताका लागि महत्वपूर्ण विषय बनेको छ।
सम्भावित अमेरिकी निर्यात प्रतिबन्धलाई ध्यानमा राख्दै बेलायतले बिहीबार आफ्ना युरोपेली साझेदारहरूसँग डिजेलको रणनीतिक भण्डार बजारमा ल्याउने विषयमा छलफल गरेको छ।
अमेरिका विश्व बजारमा डिजेल आपूर्ति गर्ने प्रमुख मुलुकमध्ये एक हो। अमेरिकाबाट दैनिक करिब १२ लाखदेखि १५ लाख ब्यारेल डिजेल निर्यात हुने गरेको छ।
अमेरिकाले डिजेल निर्यातमा प्रतिबन्ध लगाएमा विश्व बजारमा आपूर्ति घट्न सक्ने र त्यसले अन्य देशमा इन्धनको मूल्यवृद्धिको दबाब थप बढाउन सक्ने विशेषज्ञहरूले चेतावनी दिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।