काठमाण्डौ । इरानसँगको युद्ध चर्किँदै गएपछि अमेरिकाले पश्चिम एसियामा थप सैन्य शक्ति परिचालन गर्ने तयारी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानमाथि सैन्य दबाब बढाइरहेका बेला इरान आसपास तीनवटा विमानवाहक समूहसहित थप सैन्य क्षमता विस्तार गर्न लागेको हो।
अमेरिकी एक अधिकारीका अनुसार तीनवटा विमानवाहक समूह क्षेत्रमा परिचालन गर्ने तयारी भइरहेको छ। तीमध्ये यूएसएस रुजभेल्ट पनि रहेको बताइएको छ। यसका अतिरिक्त दुईवटा ल्यान्डिङ समूहलाई समेत पश्चिम एसियातर्फ पठाउने तयारी भइरहेको जनाइएको छ।
अमेरिकी सैन्य उपस्थितिमा हुने यो विस्तारले इरानसँगको द्वन्द्वमा वासिङ्टनको संलग्नता थप बढ्न सक्ने संकेत गरेको छ।
यसैबीच, स्ट्रेट अफ होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण भएको इरानको दाबीले पनि क्षेत्रीय तनाव थप बढाएको छ। इरानको पर्सियन गल्फ स्ट्रेट अथोरिटीले पछिल्ला दिनमा उक्त क्षेत्रमा केही तेल ट्यांकरमाथि आक्रमण भएको जनाएको छ।
इरानी सरकारी प्रसारक आईआरआईबीका अनुसार आक्रमणमा संयुक्त अरब इमिरेट्ससँग स्वामित्व वा चार्टर सम्बन्ध भएका तीनवटा ट्यांकरसमेत परेका छन्। अल रुबैस, सिनबाड र मर्सिन प्रोसपेरिटी नामका ती ट्यांकरले पछिल्ला दुई महिनामा पटक–पटक स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयास गरेको इरानी पक्षको दाबी छ। ती जहाज इरानी अधिकारीहरूले सार्वजनिक गरेको ‘आपत्ति नभएको’ सूचीमा समेत रहेको बताइएको छ।
विश्वको महत्वपूर्ण ऊर्जा मार्गमध्ये पर्ने स्ट्रेट अफ होर्मुजमा ठूलो स्तरको अवरोध उत्पन्न भए त्यसको असर विश्वव्यापी ऊर्जा आपूर्तिमा पर्न सक्छ। त्यसैले यहाँ बढ्दो तनाव अमेरिका–इरान द्वन्द्वमा मात्र सीमित नरही समुद्री सुरक्षा, ऊर्जा बजार र अन्तर्राष्ट्रिय व्यापारसँग समेत जोडिएको छ।
यमनमा पनि सैन्य गतिविधि तीव्र
इरानसँग जोडिएको क्षेत्रीय तनावको अर्को महत्वपूर्ण केन्द्र यमन बनेको छ। हुथी विद्रोहीविरुद्ध लडिरहेको यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले थप जनशक्ति र स्रोत परिचालन गर्ने निर्णय कार्यान्वयनका लागि मन्त्रिपरिषद् बैठक गरेको छ।
यमनको राष्ट्रपतीय परिषद्का प्रमुख रशाद अल–अलिमीले नागरिकलाई आफ्नो क्षमताअनुसार सरकारलाई सहयोग गर्न आह्वान गरेका छन्। उनले हुथी लडाकुहरू सरकार पक्षमा आए आममाफी दिने प्रस्तावसमेत अघि सारेका छन्।
यमन पक्षका अनुसार साउदी अरबले यमन सरकारलाई सैन्य अभियानका लागि ५ करोड ९० लाख अमेरिकी डलर बजेट सहयोग स्वीकृत गरेको छ। सरकार र हुथीबीचको संघर्ष तीव्र भइरहेका बेला उक्त सहयोग घोषणा भएको हो।
संयुक्त राष्ट्रसंघका यमनका विशेष दूत हान्स ग्रुन्डबर्गले ताइजमा बढेको हिंसाप्रति चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार ताइजमा मानवीय क्षति तथा पूर्वाधारमा क्षति हुनुका साथै सडक अवरुद्ध भएको खबर आएको छ।
यमनको तेस्रो ठूलो सहर ताइजमा द्वन्द्वका कारण विस्थापित धेरै मानिसले आश्रय लिइरहेका छन्। ग्रुन्डबर्गले सर्वसाधारण र नागरिक पूर्वाधारको सुरक्षा गर्न तथा मानवीय सहायता सुरक्षित रूपमा प्रभावित क्षेत्रमा पुर्याउने वातावरण बनाउन आग्रह गरेका छन्।
इरानमाथि थप अमेरिकी प्रतिबन्ध
यसैबीच अमेरिकाले इरानसँग जोडिएको वित्तीय सञ्जालमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानले सेप्टेम्बरमा ट्यांकरमा कच्चा तेल नलोड गरेको दाबी गरेका छन्।
इरानमाथि बढ्दो अमेरिकी सैन्य दबाब, स्ट्रेट अफ होर्मुजमा चर्किएको समुद्री तनाव र यमनमा हुथीविरुद्ध तीव्र बन्दै गएको संघर्षले पश्चिम एसियाको द्वन्द्व थप जटिल बन्दै गएको छ।
क्षेत्रीय तनाव अझ विस्तार भए त्यसको प्रभाव ऊर्जा आपूर्ति, समुद्री सुरक्षा, विश्वव्यापी इन्धन बजार र अन्तर्राष्ट्रिय व्यापारमा समेत पर्न सक्ने चिन्ता बढेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।