काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले भीषण बाढीबाट प्रभावित बीमित तथा हकवालालाई राहत पुग्ने गरी जीवन बीमाअन्तर्गतका विभिन्न भुक्तानी प्रक्रियामा सरलीकरण गरेको छ ।
प्राधिकरणका अनुसार २०८३ भदौ १० गते ल्हेन्दे–खोला–भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीमा आएको भीषण बाढीबाट प्रभावित बीमितका लागि मृत्यु दाबी, समर्पण, बीमालेख कर्जा तथा परिपक्व भुक्तानी गर्दा आवश्यक प्रमाण, कागजात र प्रक्रियालाई सहज बनाइएको हो ।
सरलीकृत व्यवस्थाअनुसार मृत्यु दाबीका लागि बीमितको नाम, मृत्यु भएको मिति, मृत्युको कारण, बीमालेख नम्बर र दावीकर्तासँगको नाता खुलाउनुपर्नेछ । दावीकर्ताले नाता प्रमाणित गर्ने कागजात र सरकारी निकायबाट जारी परिचयपत्रमध्ये नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र, राहदानी वा जग्गाधनी प्रमाणपूर्जा पेश गर्न सक्नेछन् ।
बाढीका कारण बीमितको मृत्यु वा बेपत्ता भएको अवस्थामा सम्बन्धित अधिकारप्राप्त निकाय वा अधिकारीबाट जारी बाढी÷विपद्मा परी मृत्यु भएको प्रमाणित विवरण वा सिफारिसपत्र अथवा न्यायिक मृत्यु घोषणा स्वीकार गर्न सकिने प्राधिकरणले जनाएको छ ।
त्यस्तै, बाढीका कारण सक्कल बीमालेख उपलब्ध हुन नसकेमा बीमा कम्पनीको अभिलेखमा रहेको प्रतिलिपिलाई आधार मानेर प्रक्रिया अघि बढाउन सकिनेछ । बीमितले बीमालेखको प्रतिलिपि माग गरेमा कम्पनीले निःशुल्क प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ ।
बीमा कम्पनीमा रहेका पोलिसी डकेट वा अन्य बीमा सम्बन्धी कागजातसमेत बाढीका कारण नष्ट भएको अवस्थामा उपलब्ध विवरणका आधारमा अभिलेख अद्यावधिक गर्न बीमित र अभिकर्ताले सहयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसैगरी, बाढीका कारण बीमाशुल्क वा बीमालेख कर्जाको नियमित किस्ता तिर्न नसक्ने अवस्था भएमा ६ महिनासम्म ब्याज नलाग्ने मोहलत अवधि थप गर्नुपर्ने व्यवस्था गरिएको छ ।
बेपत्ता बीमितको हकमा पनि प्राधिकरणले विशेष व्यवस्था गरेको छ। सम्बन्धित हकवालाले भविष्यमा बीमित जीवित रहेको प्रमाणित भएमा प्रचलित कानूनबमोजिम हुने कारबाही स्वीकार गर्ने स्वःघोषणा वा प्रतिबद्धता पत्र दिएपछि मृत्यु दाबी भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।
प्राधिकरणले विपद्बाट प्रभावित बीमित तथा उनीहरूका हकवालाको हितलाई ध्यानमा राख्दै उक्त सरलीकृत व्यवस्था कार्यान्वयन गर्न सबै जीवन बीमक तथा लघुजीवन बीमकलाई निर्देशन दिएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।