काठमाण्डौ । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम असुली सम्पर्कविहीन भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–८ बस्ने, महानगरपालिका–२१ घर भएका ४५ वर्षीय गिरिस विलास जोशी र काठमाडौं महानगरपालिका–१३ बस्ने, धादिङको गल्छी गाउँपालिका–३ घर भएका ४७ वर्षीय निलकण्ठ खनाल रहेका छन्।
प्रहरीका अनुसार जोशीले ग्रिस पठाइदिने भन्दै एक जना पीडितबाट २ लाख रुपैयाँ लिएका थिए। त्यस्तै, खनालले क्रोएशिया पठाइदिने भन्दै तीन जना पीडितबाट ९ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेको थियो।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले जोशीलाई काठमाडौं महानगरपालिका–२९ र खनाललाई महानगरपालिका–१३ बाट पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले वैदेशिक रोजगारीमा जाने क्रममा आकर्षक तलब र छिटो भिसाको प्रलोभनमा परी रकम बुझाउनुअघि सम्बन्धित व्यक्ति तथा संस्थाको आधिकारिकता जाँच गर्न आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।