काठमाण्डौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा भएको राजनीतिक टिप्पणीलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह र नेकपा एमालेका नेता गोकुल बास्कोटाबीच सामाजिक सञ्जालमार्फत कटाक्ष चलेको छ।
काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा कांग्रेस सभापति गगन थापाले संसद् खुला हुनुपर्ने धारणा राख्दै प्रधानमन्त्री शाह संसद्मा उपस्थित नभएसम्म संसद् खुला भएको मान्न नसकिने टिप्पणी गरेका थिए।
थापाको उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका थिए। उनले लेखेका थिए, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्।’
प्रधानमन्त्री शाहको उक्त टिप्पणीपछि एमाले नेता गोकुल बास्कोटाले पनि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन्।
बास्कोटाले कांग्रेस महाधिवेशनमा नयाँ–पुराना दलबीचको सम्बन्ध र राजनीतिक प्रतिस्पर्धाबारे चर्चा भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहमाथि कटाक्ष गरेका हुन्।
उनले लेखेका छन्, ‘एक तिहाइ कांग्रेस अनुपस्थित महाधिवेशनको मञ्चमा नयाँ–पुराना दलका मिलन–बिछोडका रमाइला आवाज गुञ्जिएका थिए। तर, प्रम बालेनले गगनलाई मध्यरातमा नयाँ दल भनेर त्यति सारो नहेपेको भए हुने थियो।’
कांग्रेस महाधिवेशनको मञ्चबाट सुरु भएको टिप्पणी र त्यसपछिका सामाजिक सञ्जाल प्रतिक्रियाले पछिल्लो राजनीतिक बहसलाई थप चर्चामा ल्याएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।