काठमाण्डौ । चाडपर्वका बेला कुनै शङ्कास्पद वा आपराधिक गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ।
‘केही शङ्कास्पद देखे भन्नुहोस्’ भन्ने सन्देशसहित प्रहरीले नागरिकबाट समयमै प्राप्त हुने सानो सूचनाले पनि ठूलो अपराध वा दुर्घटना रोक्न सक्ने जनाएको छ। आपत्कालीन अवस्थामा प्रहरीको १०० नम्बरमा निःशुल्क फोन गर्न सकिने र प्राप्त सूचनाको गोपनीयता कायम गरिने प्रहरीको भनाइ छ।
नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले कुनै शङ्कास्पद गतिविधि हुन लागेको वा भइरहेको जानकारी भए तत्काल नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा सम्पर्क गर्न आग्रह गरे।
उनका अनुसार नागरिकबाट प्राप्त सूचना तत्काल प्रहरी परिचालनको आधार बन्नेछ। सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा २४सै घण्टा फोन उठ्ने व्यवस्था मिलाइएको छ।
प्रहरीले चाडपर्वका बेला भौतिक अपराधसँगै डिजिटल ठगी र सामाजिक सञ्जालबाट फैलिन सक्ने गलत सूचनामाथि पनि निगरानी कडा बनाएको छ।
नक्कली अनलाइन सपिङ अफर, लोटरी तथा गिफ्ट म्यासेज, फेक इन्भेस्टमेन्ट स्किम, मोबाइल बैंकिङ तथा डिजिटल वालेट ठगी, ओटीपी, पिन र पासवर्ड चोरी गर्ने फिसिङ गतिविधिबाट सचेत रहन प्रहरीले आग्रह गरेको छ।
एआईबाट बनाइएका नक्कली आवाज, भिडियो वा आफन्तको नाममा आउने असामान्य रकम माग्ने सन्देशलाई तत्काल विश्वास नगर्न पनि प्रहरीले चेतावनी दिएको छ। यस्ता सामग्रीमार्फत ठगी वा भ्रम फैलाउने गतिविधि भए कानुनअनुसार कारबाही गरिने प्रहरीको भनाइ छ।
चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरीले देशभर ५० हजारभन्दा बढी जनशक्ति परिचालन गरेको छ। बडादसैँ, तिहार, नेपाल संवत् र छठलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो।
यात्रुको सुरक्षाका लागि देशभर ४०८ स्थानमा तथा भारत र चीनसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा नाकामा १०८ वटा सहायता कक्ष स्थापना गरिएको छ। काठमाडौं उपत्यका, प्रदेश र जिल्ला प्रहरी कार्यालयमा कमान्ड पोस्टसमेत स्थापना गरिएको छ।
प्रहरीले पैदल, मोबाइल, ग्रामीण, क्यूआरटी, एलआरपी, एसआरपी र क्रस पेट्रोलिङलगायतका गस्ती परिचालन गरेको जनाएको छ। प्रमुख बजार, सपिङ मल, बैंक तथा वित्तीय संस्था, प्रवेश तथा निकास नाका र बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रमा ड्रोन तथा सीसीटीभीबाट निगरानी बढाइएको छ।
सुरक्षा योजना घटना भइसकेपछि अनुसन्धान गर्नेभन्दा अपराध हुनुअघि नै रोक्ने रणनीतिमा केन्द्रित रहेको प्रहरीले जनाएको छ। चोरी, डकैती, लुटपाट, जुवातास, अवैध सट्टेबाजी, कालोबजारी, कृत्रिम अभाव, सार्वजनिक झैझगडा र उच्छृंखल गतिविधिमाथि विशेष निगरानी गरिनेछ।
सीमा क्षेत्रमा तस्करी, सीमा अपराध र विस्फोटक पदार्थको अवैध ओसारपसार नियन्त्रणका लागि विशेष जाँचको व्यवस्था गरिएको छ।
राजमार्ग सुरक्षामा समेत विशेष सतर्कता अपनाइएको छ। सवारी छुट्ने स्थानमै चालकको लाइसेन्स जाँच, मादक पदार्थ तथा लागूऔषध सेवन परीक्षण गर्ने, लामो दूरीका सवारीमा दुई चालकको व्यवस्था लागू गर्ने र सवारीको मेकानिकल परीक्षण प्रतिवेदनसमेत जाँच गरिने प्रहरीले जनाएको छ।
सिट क्षमताभन्दा बढी यात्रु राख्ने, टिकटमा कालोबजारी गर्ने वा यात्रुलाई अनावश्यक दुःख दिने गतिविधिमाथि पनि निगरानी गरिनेछ। चालकले लापरबाहीपूर्वक सवारी चलाएको देखे यात्रुले तत्काल प्रहरीलाई सूचना दिन सक्नेछन्।
लामो समय घरबाहिर जाने नागरिकलाई आफ्नो घर खाली रहेको जानकारी सामाजिक सञ्जालमा नराख्न प्रहरीले सुझाव दिएको छ। घर छाड्नुअघि झ्यालढोका राम्रोसँग बन्द गर्ने, ग्यास र विद्युत् जाँच गर्ने, भरपर्दो तालाचाबी प्रयोग गर्ने तथा सम्भव भए सीसीटीभी र पर्याप्त प्रकाशको व्यवस्था गर्न पनि आग्रह गरिएको छ।
भीडभाडमा नगद, गरगहना र महँगा मोबाइल बोकेर हिँड्दा विशेष सावधानी अपनाउन प्रहरीले भनेको छ।
प्रहरीले सुरक्षित चाडपर्वका लागि सुरक्षा निकायको प्रयास मात्र पर्याप्त नहुने भन्दै नागरिक, स्थानीय समुदाय, व्यवसायी र अन्य सरोकारवालासँग सहकार्य आवश्यक रहेको जनाएको छ।
चाडपर्व अवधिमा सम्भावित विपद्का घटनालाई समेत सुरक्षा योजनामा समेटिएको छ। खोज, उद्धार र राहतका लागि तालिमप्राप्त प्रहरीलाई २४सै घण्टा तयारी अवस्थामा राखिएको छ।
शङ्कास्पद गतिविधि देखिए तत्काल सूचना दिन र आफू सुरक्षित रहँदै अरूलाई पनि सुरक्षित राख्न स्वअनुशासन कायम गर्न प्रहरीले नागरिकलाई आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।