काठमाण्डौ । अमेरिकी भुक्तानी सेवा प्रदायक कम्पनी भिसाले चीनको विशाल बैंक कार्ड क्लियरिङ बजारमा प्रवेश गर्ने प्रक्रिया अघि बढाएको छ।
चीनको केन्द्रीय बैंक पिपल्स बैंक अफ चाइनाले भिसाको चीनस्थित कम्पनी ‘भिसा इन्फर्मेसन टेक्नोलोजी (बेइजिङ) कम्पनी लिमिटेड’ लाई बैंक कार्ड क्लियरिङ संस्था स्थापना गर्न आवश्यक तयारी अघि बढाउन प्रशासनिक अनुमति दिएको हो।
यो अनुमतिसँगै भिसाले चीनको कडा नियमनमा रहेको भुक्तानी बजारमा औपचारिक प्रवेशका लागि अर्को महत्त्वपूर्ण चरण पार गरेको छ। कम्पनीले अब आवश्यक पूर्वाधार तथा नियामकीय तयारी पूरा गरेपछि व्यावसायिक सेवा सञ्चालनका लागि अन्तिम इजाजतपत्र माग्न सक्नेछ।
चीनको केन्द्रीय बैंकका अनुसार भिसाले एक वर्षभित्र तयारी पूरा गर्नुपर्नेछ। त्यसपछि पिपल्स बैंक अफ चाइना तथा सम्बन्धित बैंकिङ नियामक निकायले पुनः समीक्षा गरेपछि मात्रै बैंक कार्ड क्लियरिङ सेवा सञ्चालनका लागि अन्तिम स्वीकृति दिइनेछ।
भिसाका प्रमुख कार्यकारी अधिकृत रायन म्याकइनर्नीले चीनमा लामो समयदेखि रहेको कम्पनीको प्रतिबद्धता पूरा गर्ने दिशामा यो अनुमति महत्त्वपूर्ण कदम भएको बताएका छन्।
चीनको बैंक कार्ड बजारमा हाल सरकारी नियन्त्रणमा रहेको चाइना युनियनपेको बलियो प्रभुत्व छ। अमेरिकी कम्पनी मास्टरकार्ड र अमेरिकन एक्सप्रेसले पनि यसअघि चीनमा बैंक कार्ड क्लियरिङ सेवा सञ्चालनका लागि अनुमति पाइसकेका छन्।
मास्टरकार्डले सन् २०२० मा स्थानीय क्लियरिङ कम्पनीसँग साझेदारी गर्दै तयारी अनुमति पाएको थियो भने अमेरिकन एक्सप्रेसको संयुक्त लगानी कम्पनीले पनि सोही वर्ष सेवा सञ्चालनको अनुमति पाएको थियो।
भिसाको प्रवेशले चीनको बैंक कार्ड क्लियरिङ बजारमा विदेशी कम्पनीबीच प्रतिस्पर्धा थप बढाउने अपेक्षा गरिएको छ।
चीनको बैंक कार्ड बजार विश्वकै ठूला भुक्तानी बजारमध्ये एक हो। केन्द्रीय बैंकको तथ्यांकअनुसार सन् २०२५ मा चीनमा बैंक कार्डमार्फत ४.६ ट्रिलियन कारोबार भएका थिए। ती कारोबारको कुल मूल्य ९६३.६ ट्रिलियन युआन पुगेको थियो।
यति ठूलो कारोबार हुने बजारमा प्रवेशको बाटो खुल्नु भिसाका लागि व्यावसायिक विस्तारको ठूलो अवसरका रूपमा हेरिएको छ।
यद्यपि कम्पनीले अहिले नै व्यावसायिक सेवा सुरु गर्न पाउने छैन। आवश्यक तयारी पूरा गरेर अन्तिम सञ्चालन इजाजतपत्र प्राप्त गरेपछि मात्रै भिसाले चीनमा बैंक कार्ड क्लियरिङ व्यवसाय औपचारिक रूपमा सञ्चालन गर्न सक्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।