–रविन ठकुरी
काठमाण्डौ । दशैं नजिकिएसँगै काठमाडौं उपत्यकामा खसी–बोका र च्याङ्ग्रा भित्रिने क्रम तीव्र बनेको छ। तर, यसपटक उपभोक्ताले अघिल्लो वर्षको तुलनामा किलोमै १०० रुपैयाँसम्म बढी मूल्य तिर्नुपर्ने भएको छ।
घटस्थापनासँगै काठमाडौंका मुख्य पशु बजारमा खसी–बोका तथा च्याङ्ग्राको किनबेच सुरु भइसकेको छ। व्यवसायीका अनुसार जिउँदो खसी–बोकाको मूल्य गत वर्ष प्रतिकिलो ८०० रुपैयाँ रहेकोमा यस वर्ष ९०० रुपैयाँसम्म पुगेको छ। त्यस्तै, च्याङ्ग्राको मूल्य पनि प्रतिकिलो १,२५०–१,३०० रुपैयाँबाट बढेर १,३५०–१,४०० रुपैयाँ पुगेको छ।
यसैबीच पछिल्ला बाढीपहिरोका कारण विभिन्न राजमार्ग तथा सडकखण्डमा देखिएको अवरोधले चौपाया ढुवानीमा थप समस्या सिर्जना गरेको छ। व्यवसायीले सडक अवरोध लम्बिए दशैंको मुख्य किनमेलका बेला आपूर्ति प्रभावित भई मूल्य अझै बढ्न सक्ने चेतावनी दिएका छन्।
१,५०० देखि २,००० चौपाया बाटोमै अलपत्र
नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापन प्रालिका प्रबन्ध निर्देशक जीवनराज खतिवडाका अनुसार सडक समस्याका कारण काठमाडौं ल्याइँदै गरेका करिब १,५०० देखि २,००० चौपाया अझै बाटोमै अलपत्र छन्।
उनले त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सहज आवागमन नभए आपूर्तिमा समस्या आउन सक्ने बताए।
“अन्य क्षेत्रबाट चौपाया आउन थालेका छन्। तर सडक अवरुद्ध भएका स्थानबाट आपूर्ति सहज नभए दशैंमा अभाव देखिन सक्छ र मूल्यमा थप असर पर्न सक्छ,” उनले भने।
उनका अनुसार इन्धनको मूल्यवृद्धिले ढुवानी लागत बढ्दा त्यसको सीधा असर चौपायाको मूल्यमा परेको छ।
“वास्तविक मूल्य माग र आपूर्तिले निर्धारण गर्छ। मुख्य किनबेच षष्ठीदेखि सुरु हुने भएकाले त्यसपछि बजार मूल्य थप स्पष्ट हुन्छ,” खतिवडाले बताए।
खाद्य कम्पनी बजारमा नआउँदा मूल्य नियन्त्रण निजी क्षेत्रकै भरमा
यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि खसी–बोका तथा च्याङ्ग्रा बिक्री नगर्ने भएपछि बजार मूल्य नियन्त्रणमा सरकारी हस्तक्षेप कम हुने देखिएको छ।
विगतमा कम्पनीले सहुलियत मूल्यमा चौपाया बिक्री गर्दा निजी बजारको मूल्यमा समेत दबाब पर्ने गरेको थियो। तर यसपटक मूल्य निर्धारण लगभग पूर्ण रूपमा निजी व्यवसायी, माग र आपूर्तिमा निर्भर हुने भएको छ।
कलंकी खसी बजारका व्यवसायी भिमसेन थापाले गत वर्ष प्रतिकिलो ८०० रुपैयाँ रहेको जिउँदो खसी–बोकाको मूल्य यस वर्ष ९०० रुपैयाँसम्म पुगेको बताए।
त्यस्तै अर्का व्यवसायी राम थापाका अनुसार च्याङ्ग्राको मूल्य पनि किलोमा करिब १०० रुपैयाँ बढेको छ।
उत्पादनसमेत घट्दै, आपूर्तिमा अर्को दबाब
चौपाया व्यवसायीहरूका अनुसार स्वदेशी उत्पादनसमेत क्रमशः घट्दै गएको छ। यसले दशैंको बढ्दो माग धान्न थप चुनौती थपेको छ।
दाङका चौपाया व्यवसायी अकबर कुरेसीका अनुसार जिल्लामा विगतमा १० देखि १२ हजारसम्म खसी–बोका उत्पादन हुने गरेकोमा अहिले उत्पादन घटेर ८ देखि ९ हजारमा सीमित भएको छ।
किसानले पशुपालनका लागि पर्याप्त सुविधा नपाउँदा उत्पादन वर्षेनी घट्दै गएको उनको भनाइ छ।
कहाँ–कहाँबाट आउँछन् खसी–बोका र च्याङ्ग्रा ?
दशैंका लागि काठमाडौंमा दाङ, सल्यान, सुर्खेत, धनगढी, बैतडी, कटारी, गाईघाट, नुवाकोट, धादिङ र मकवानपुरलगायत जिल्लाबाट ठूलो संख्यामा खसी–बोका ल्याइन्छ।
त्यस्तै उदयपुर, सिन्धुली, खोटाङ, झापा, इलाम, धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, ओखलढुंगा र सोलुखुम्बुबाट पनि खसी–बोका काठमाडौं आउने गरेका छन्।
च्याङ्ग्रा भने मुख्यतः मनाङ र मुस्ताङबाट काठमाडौं ल्याइन्छ।
दशैंमा ३०–३५ हजार चौपायाको कारोबार
नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापन प्रालिको कलंकी बजारमा मात्रै दशैंका लागि विभिन्न जिल्लादेखि भारतसम्मबाट ३० हजारदेखि ३५ हजार खसी–बोका र च्याङ्ग्रा भित्रिने गरेको छ।
काठमाडौं उपत्यकाको समग्र मागमध्ये करिब एकतिहाइ माग कलंकी खसी बजारले धान्ने गरेको छ। बाँकी माग बालाजु, तीनकुने, कोटेश्वर, टुकुचा, सातदोबाटो तथा विभिन्न अस्थायी बजार र व्यक्तिगत व्यापारीमार्फत पूर्ति हुने गरेको छ।
यस वर्ष भने उत्पादनमा आएको कमी, ढुवानी लागत वृद्धि र सडक अवरोधका कारण दशैंको मुख्य कारोबार सुरु हुँदा खसी–बोका तथा च्याङ्ग्राको मूल्यमा थप चाप पर्न सक्ने व्यवसायीहरूको अनुमान छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।