काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक बेथिति हटाउँदै हरेक नागरिकलाई सरकारको अनुभूति गराउन सबै एकजुट हुनुपर्ने बताएका छन्।
विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले समाजमा रहेका विकृति हटाउन इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत आवश्यक रहेको उल्लेख गरेका हुन्। उनले परिवर्तन विचार र प्रतिबद्धतामा मात्र सीमित हुन नहुने भन्दै व्यवहारमा पनि देखिनुपर्नेमा जोड दिएका छन्।
“इमान्दार प्रयास, अठोट र सामूहिक मेहनतले नै हामीलाई यस्ता विकृति हटाउन मद्दत गर्नेछ। परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी छ,” सन्देशमा भनिएको छ।
प्रधानमन्त्री शाहले विजयादशमीलाई असत्यमाथि सत्यको विजयको उत्सवका रूपमा स्मरण गर्दै यस पर्वको सन्देशलाई सुशासन र नागरिकप्रतिको जिम्मेवारीसँग जोडेका छन्। भ्रष्टाचार र कुशासनलगायतका विकृतिलाई ‘आसुरी प्रवृत्ति’का रूपमा उल्लेख गर्दै उनले तिनको अन्त्यका लागि साझा प्रयासको आह्वान गरेका छन्।
“आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ,” उनले भनेका छन्।
शाहले विजयादशमीले मानिसभित्र रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिने उल्लेख गरेका छन्। उनको सन्देशमा व्यक्तिगत आचरणको सुधारसँगै सार्वजनिक जीवनमा जिम्मेवारी र सामूहिक प्रयत्नको आवश्यकतालाई प्राथमिकता दिइएको छ।
पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि विजय प्राप्त गरेको तथा भगवान् रामले रावणको अन्त्य गरेको दिनका रूपमा विजयादशमी मनाइने स्मरण गर्दै उनले देश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले सत्कर्ममा विजय प्राप्त गर्ने कामना बोकेको पनि प्रधानमन्त्री शाहले बताएका छन्। आशीर्वाद लिन टाढा रहेका मान्यजनसम्म पुग्ने अभ्यासलाई उनले पर्वको आत्मीय पक्षका रूपमा उल्लेख गरेका छन्।
भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा विजयादशमीले सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्ने उनको भनाइ छ। लामो समयदेखि छुट्टिएका साथीभाइ र आफन्तसँग भेटघाट गरी आत्मीयता बाँड्ने अवसरसमेत यस पर्वले दिने उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले आ–आफ्नो क्षमताअनुसार पर्व मनाउँदै आपसमा सद्भाव, एकता, सम्मान र माया साट्न आग्रह गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।