आईतवार, कार्तिक २२,२०८३ 04:18:23
  • आईतवार, कार्तिक २२,२०८३ 04:18:23
Global IME Bank Limited

नागरिक लगानी कोषको आकार २० प्रतिशत बढ्दा नाफा ०.६ प्रतिशत मात्रै बढ्यो

Bizshala
नागरिक लगानी कोषको आकार २० प्रतिशत बढ्दा नाफा ०.६ प्रतिशत मात्रै बढ्यो
New Office

काठमाण्डौ । नागरिक लगानी कोषको कुल स्रोत एक वर्षमा झन्डै ६४ अर्ब रुपैयाँले बढेको छ। तर आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा केन्द्रीय हिसाबको खुद नाफा करिब १८ लाख रुपैयाँले मात्रै बढ्यो। सेवा शुल्क तथा कमिसनबाट हुने आम्दानीले ब्याज आम्दानीको गिरावट धाने पनि व्यवस्थापन खर्च बढ्दा त्यसको लाभ खुद नाफामा थोरै मात्र देखिएको हो।

कोषको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म केन्द्रीय हिसाबको खुद नाफा ३१ करोड ६१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा ३१ करोड ४३ लाख रुपैयाँ थियो। यही अवधिमा कोषको कुल स्रोत ३ खर्ब १९ अर्ब १६ करोड रुपैयाँबाट बढेर ३ खर्ब ८२ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

ब्याज आम्दानी ४० प्रतिशत घट्दा सेवा शुल्कको भर

कोषको केन्द्रीय हिसाबमा ब्याज आम्दानी ९ करोड ७२ लाख रुपैयाँबाट घटेर ५ करोड ८३ लाख रुपैयाँमा झरेको छ। त्यसको असर सेवा शुल्क तथा कमिसन आम्दानीले कम गर्‍यो। यो शीर्षकको आम्दानी करिब १० प्रतिशत बढेर ४६ करोड ९६ लाख रुपैयाँ पुगेको छ। केन्द्रीय हिसाबको कुल आम्दानीमा सेवा शुल्क तथा कमिसनको हिस्सा करिब ८४ प्रतिशत छ।

कुल आम्दानी ३.९ प्रतिशत बढेर ५५ करोड ८१ लाख रुपैयाँ पुगे पनि कुल खर्च करिब १५ प्रतिशत बढेर १३ करोड ५६ लाख रुपैयाँ पुगेको छ। व्यवस्थापन खर्च मात्रै करिब २१ प्रतिशत बढेको छ। आम्दानीभन्दा खर्च तीव्र गतिमा बढेकाले खुद नाफाको वृद्धि ०.६ प्रतिशतमा सीमित भएको हो।

Garima Development Bank
Bizshala
IME remit

मुद्दती निक्षेप घट्यो सरकारी ऋणपत्रमा लगानी बढ्यो

कोषको कुल लगानी १५.८ प्रतिशत बढेर ३ खर्ब ४२ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। तर लगानीको संरचना बदलिएको छ। एक वर्षमा मुद्दती निक्षेप १ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँबाट घटेर १ खर्ब ४० अर्ब ६८ करोड रुपैयाँमा झरेको छ। त्यही अवधिमा नेपाल सरकारको ऋणपत्रमा लगानी ३ अर्ब ६३ करोड रुपैयाँबाट ३८ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। ट्रेजरी बिलमा लगानी पनि ४ अर्ब ३३ करोड रुपैयाँबाट बढेर २३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ।

बजारमा अधिक तरलताका कारण मुद्दती निक्षेपको ब्याजदर घटेको र कर्जाको माग पनि कमजोर रहेको कोषको व्यवस्थापकीय विश्लेषणमा उल्लेख छ। कोषले अल्पकालीन तरलता व्यवस्थापनका लागि ट्रेजरी बिलमा र दीर्घकालीन दायित्वसँग लगानीको अवधि मिलाउन सरकारी ऋणपत्रमा रकम राखेको जनाएको छ।

लगानी प्रतिफल र प्रतिसेयर आम्दानी दुवै घटे

कोषको लगानी प्रतिफल ४.८१ प्रतिशतबाट ४.२७ प्रतिशतमा झरेको छ। भारित औसत कोष लागत पनि ४.५५ प्रतिशतबाट ४.०४ प्रतिशतमा घटेको छ। प्रतिफल र लागतबीचको अन्तर भने ०.२६ प्रतिशत बिन्दुबाट ०.२३ प्रतिशत बिन्दुमा साँघुरिएको छ।

खुद नाफा सामान्य बढे पनि सेयर पुँजी करिब ५ प्रतिशतले बढेकाले वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी १९.४० रुपैयाँबाट १८.५८ रुपैयाँमा झरेको छ। प्रतिसेयर नेटवर्थ पनि १६९.०८ रुपैयाँबाट १५७.११ रुपैयाँमा घटेको छ। कोषको आकार बढे पनि त्यसअनुसार प्रतिफल र प्रतिसेयर आम्दानी बढ्न नसक्नु पहिलो त्रैमासको मुख्य निष्कर्ष हो।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.