काठमाडौं। अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकले हालसम्मकै ठूलो प्राथमिक शेयर निष्कासन (आईपीओ) मार्फत ८१ अर्ब ३० करोड अमेरिकी डलर जुटाएको छ । यससँगै कम्पनीले गत जुनमा ७५ अर्ब डलर जुटाएको स्पेसएक्सको कीर्तिमान तोडेको छ ।
कम्पनीले प्रतिशेयर ८३ डलरका दरले ९८ करोड कित्ता शेयर बिक्री गरेको हो । यसअघि प्रतिशेयर ७० देखि ७८ डलरका दरले ८२ करोड ५० लाख कित्ता शेयर निष्कासन गर्ने योजना बनाएको थियो । लगानीकर्ताको माग अपेक्षाभन्दा बढी भएपछि निष्कासनको आकार बढाइएको हो ।
सन् २०२१ मा ओपनएआईका पूर्वअनुसन्धानकर्ताले स्थापना गरेको एन्थ्रोपिकको बजार मूल्य करिब १.५ ट्रिलियन डलर पुग्ने अनुमान छ । यसले कम्पनीलाई विश्वकै १२औँ ठूलो कम्पनी बनाउनेछ । कम्पनीको शेयर बिहीबारदेखि न्युयोर्कस्थित नास्डाकमा ‘एएनटी’ संकेतमा कारोबार हुने छ ।
प्रविधि अनुसन्धान कम्पनी गार्टनरका अनुसार एआई क्षेत्रमा लगानी सन् २०२६ मा २.७ ट्रिलियन र सन् २०२७ मा ३.६ ट्रिलियन डलर पुग्ने अनुमान छ । यद्यपि, एआईमा भइरहेको ठूलो लगानी दिगो आर्थिक अवसर हो वा सन् २००० को डटकम बजारजस्तै सट्टेबाजीको बुलबुला हो भन्ने बहस पनि बढेको छ ।
फ्लोरिडा विश्वविद्यालयका आईपीओ विशेषज्ञ जेआर रिटरले एन्थ्रोपिकको मूल्याङ्कन कम्पनीको उमेरको तुलनामा अभूतपूर्व रहेको बताउनुभएको छ । उहाँका अनुसार एन्थ्रोपिकको प्रविधिले आगामी १० वर्षभित्र क्यान्सर र डिमेन्सियाविरुद्धका औषधि खोज्न औषधि कम्पनीलाई सहयोग गर्न सक्ने अपेक्षाले लगानीकर्ता आकर्षित भएका हुन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।