काठमाण्डौ । विभिन्न देशमा दादुराको संक्रमण पुनः बढ्न थालेपछि परिवार कल्याण महाशाखाले बालबालिकाको नियमित खोप नछुटाउन आग्रह गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको महाशाखाले दादुरा–रुबेलाबाट जोगाउन तोकिएको उमेरमा खोपका दुवै मात्रा पूरा गराउन अभिभावकको ध्यानाकर्षण गराएको हो।
विकसित मुलुकमा समेत संक्रमण बढेको र केही देशले दादुरा निवारणको मान्यता गुमाएको सन्दर्भ उल्लेख गर्दै महाशाखाले खोपको पहुँच र निगरानीमा सतर्कता आवश्यक रहेको जनाएको छ।
खोपको अपूर्ण पहुँच, खोपबारे फैलिएका भ्रम तथा गलत सूचना र बालबालिकाले दुवै मात्रा खोप नपाउँदा संक्रमण फैलिने जोखिम बढ्ने महाशाखाले औँल्याएको छ। ज्वरो र शरीरमा बिमिरा देखिएका शंकास्पद बिरामीको समयमै पहिचान तथा रिपोर्टिङ नहुनुले पनि रोग नियन्त्रणमा चुनौती थप्ने उल्लेख गरिएको छ।
नेपालको नियमित खोप तालिकाअनुसार बालबालिकालाई ९ महिनामा पहिलो र १५ महिनामा दोस्रो मात्रा दादुरा–रुबेला खोप दिइन्छ। सरकारले यी दुवै मात्रा निःशुल्क उपलब्ध गराउँदै आएको छ। कुनै मात्रा छुटेको भए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप पूरा गराउन सकिन्छ।
महाशाखाले लक्षित सबै बालबालिकाले खोप पाएको सुनिश्चित गर्न जोड दिँदै खोपसम्बन्धी भ्रममा नपर्न र बालबालिकाको खोप तालिकामा ध्यान दिन आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।