काठमाण्डौ । टाटा समूह र सिप्रदियन सहायता संस्थाले नुवाकोटका बाढीप्रभावित परिवारलाई स्टिलका दुई हजार दराज हस्तान्तरण गरेका छन्। बाढीबाट घर तथा घरायसी सामग्री गुमाएका परिवारको दैनिक जीवन सहज बनाउन र दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुर्याउन उक्त सामग्री उपलब्ध गराइएको हो।
‘एक टाटा नेपाल GLOF विपद् प्रतिकार्य कार्यक्रम २०२६’ अन्तर्गत हिमताल विस्फोटबाट आएको बाढीका कारण प्रभावित परिवारलाई सहयोग गरिएको संस्थाले जनाएको छ। दराज उपलब्ध भएपछि परिवारलाई दैनिक प्रयोगका घरायसी सामग्री सुरक्षित राख्न सहज हुने अपेक्षा गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेती तथा नेपाल सरकारको मार्गदर्शनमा यो पहल सञ्चालन गरिएको विज्ञप्तिमा उल्लेख छ।
हस्तान्तरण कार्यक्रममा टाटा सन्सका समूह प्रमुख दिगोपना अधिकृत चाको थोमसले विपद् प्रतिकार्यलाई तत्कालीन राहतमा मात्र सीमित गर्न नहुने बताए। प्रभावित परिवारको आत्मसम्मान पुनःस्थापित गर्दै जीवन सामान्य अवस्थामा फर्काउन र सुरक्षित भविष्यतर्फ अघि बढ्न सहयोग गर्नु पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ थियो। उनले नुवाकोटका प्रभावित नागरिकको पुनर्स्थापनामा टाटा समूह, यसका कर्मचारी तथा सिप्रदी समूहको साथ निरन्तर रहने प्रतिबद्धता जनाए।
सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालले वास्तविक आवश्यकता भएका व्यक्ति तथा समुदायसम्म अर्थपूर्ण सहयोग पुर्याउनु संस्थाको उद्देश्य रहेको बताए। नुवाकोटमा गरिएको सहयोग कठिन परिस्थितिमा रहेका समुदायसँग साथमा उभिने प्रतिबद्धताको उदाहरण भएको उल्लेख गर्दै उनले समावेशी र विपद् सामना गर्न सक्षम समाज निर्माणमा योगदान गर्ने धारणा राखे।
कार्यक्रममा टाटा सस्टेनेबिलिटी ग्रुपका एभीपी–एसएस श्रीरंग धवले, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत तथा निर्देशक राजेश प्रसाद गिरी र वरिष्ठ उपाध्यक्ष सौरभ राज थापालियाको उपस्थिति थियो। विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी तथा स्थानीय सरोकारवाला पनि कार्यक्रममा सहभागी थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।