काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दैलेखको जलजलेस्थित पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण परियोजनालाई उच्च प्राथमिकतामा राखेर अघि बढाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरी शनिबार साँझ दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजले ड्रिलिङ साइटको स्थलगत निरीक्षण गर्दै उनले लामो समयदेखि रोकिएको परीक्षण तथा उत्खनन प्रक्रियालाई गति दिनुपर्ने बताएका हुन्।
निरीक्षणका क्रममा लामिछानेले परियोजनाको प्रगति, प्राविधिक अवस्था तथा निर्माणस्थलमा रहेका उपकरणहरूको अवस्थाबारे जानकारी लिएका थिए।
करोडौँका उपकरणमा खिया लाग्न थालेपछि चिन्ता
लामिछानेले परियोजनामा करिब दुई वर्षअघि नै चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ सम्पन्न भए पनि त्यसपछिको परीक्षण प्रक्रिया अघि बढ्न नसकेको भन्दै चिन्ता व्यक्त गरे।
उनका अनुसार एक वर्षदेखि परीक्षणको काम रोकिँदा आयोजनास्थलमा रहेका करोडौँ रुपैयाँ मूल्यका संवेदनशील उपकरणमा खिया लाग्न थालेको छ।
‘पहिलो पटक यहाँ आएर यसको अवस्था हेरेँ। उत्पादनको आवश्यकता छँदैछ, तत्काल महँगा उपकरणको संरक्षणको पनि उत्तिकै खाँचो देखियो,’ उनले भने, ‘प्राविधिक काम कहाँ र किन अड्किएको हो, त्यसबारे थप बुझ्नुपर्छ।’
उनले लामो समयदेखि रोकिएको 'वेल टेस्ट' तथा व्यावसायिक उत्पादनको सम्भाव्यता परीक्षण अघि बढाउन सम्बन्धित मन्त्रालय र प्राविधिक विज्ञहरूसँग परामर्श गर्ने बताएका छन्।
५० देखि ६० वर्षको माग धान्न सक्ने ग्यास रहेको दाबी
लामिछानेले परियोजनाको प्रयोगशाला परीक्षणबाट ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डार रहेको पुष्टि भएको दाबी गरे।
उक्त परिमाणको ग्यासले नेपालको करिब ५० देखि ६० वर्षसम्मको माग धान्न सक्ने उनको भनाइ छ।
यद्यपि, अनुमानित ग्यास भण्डार र व्यावसायिक रूपमा उत्खनन गर्न सकिने वास्तविक परिमाण फरक हुन सक्ने भएकाले थप प्राविधिक परीक्षण तथा आर्थिक सम्भाव्यता अध्ययन आवश्यक हुन्छ।
लामिछानेले यो परियोजना सफल भए कर्णाली प्रदेशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
नेपाल–चीन सहकार्यमा अघि बढेको परियोजना
दैलेखको पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण परियोजना नेपाल र चीनबीचको सहकार्यमा अघि बढाइएको हो।
दुई देशबीच भएको समझदारीअनुसार विसं २०७६ फागुनमा विस्तृत अन्वेषणसम्बन्धी सम्झौता गरी परियोजनाको काम अघि बढाइएको थियो।
परियोजनाका लागि करिब ४५ रोपनी जग्गा अधिग्रहण गरिएको छ।
तर ड्रिलिङ सम्पन्न भए पनि त्यसपछिका महत्त्वपूर्ण प्राविधिक परीक्षणमा ढिलाइ हुँदा व्यावसायिक उत्पादनको सम्भाव्यता अझै टुंगो लाग्न सकेको छैन।
कर्णालीको आर्थिक समृद्धिको आधार बन्न सक्ने
लामिछानेले प्राकृतिक ग्यासको उत्खनन सफल भए कर्णाली प्रदेशको आर्थिक विकासमा नयाँ अवसर सिर्जना हुने बताए।
‘हामीले आमनागरिकसँग गरेको बाचा र चाहेको समृद्धिका आधार यिनै गौरवका आयोजना हुन्,’ उनले भने, ‘यसको उत्खननलाई पूर्णता दिन निरन्तर पहल रहनेछ। विस्तृत अध्ययन गरी ठोस कदम चालिनेछ।’
उनले कर्णालीवासीले परियोजनाबारे छिट्टै सकारात्मक सन्देश पाउने विश्वाससमेत व्यक्त गरे।
निरीक्षणका क्रममा नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले लामिछानेलाई परियोजनाको हालसम्मको प्रगति तथा वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
दैलेखमा प्राकृतिक ग्यासको व्यावसायिक उत्पादन सम्भव भए नेपालले आयातित ऊर्जामाथिको निर्भरता घटाउने सम्भावना रहनेछ। तर त्यसका लागि बाँकी परीक्षण सम्पन्न गरी वास्तविक उत्पादन क्षमता, लागत, पूर्वाधार आवश्यकता र आर्थिक सम्भाव्यता यकिन गर्नुपर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।