काठमाण्डौ । काठमाण्डौको चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
धुम्वाराहिस्थित अकामा होटलमा शनिवार सम्पन्न साधारण सभाले नव निर्वाचित सञ्चालकहरु मध्येवाट वरिष्ठ रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतबाट चयन गरेको छ ।
हस्पिटलका सञ्चालकहरुमा सरला रिजाल,डा. हरिकिशोर श्रेष्ठ,डा.गिसुपनिख प्रसिको, डा. राजेश किशोर श्रेष्ठ, डा.रिता सिंह हमाल,शरदकान्त अधिकारी,हरिप्रसाद पाठक, विजय मल्ल, बाबुकाजी कार्की, प्रा.डा. जागेश्वर शर्मा गौतम निर्वाचित भएका छन्।
भारतको ख्यातिप्राप्त अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजबाट रेडियोलोजीमा विशेषज्ञता हाँसिल गरेका तथा चिकित्सा क्षेत्रमा ५ दशक भन्दा बढीको अनुभव संगालेका डा.श्रेष्ठ नेपाली चिकित्सा क्षेत्रमा रेडियोलोजी विधालाई स्थापित गराउने अग्रणी चिकित्सकका रुपमा परिचित छन् ।
हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य (सिनेटर) रहेका डा. श्रेष्ठ नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका संस्थापक संचालक सेयरधनी तथा नेपाल रेडियोलोजी सोसाइटिका सल्लाहाकार समेत छन् ।
उनी नेपाल सरकारको उच्च शिक्षा प्राविधिक समितिका पूर्व सदस्य समेत रहिसकेका छन् भने नेपाल मेडिकल काउन्सिलका पूर्व उपाध्यक्ष तथा नेपाल चिकित्सक संघको पूर्व अध्यक्ष समेत हुन् ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्दै साधारण सभामा उपस्थित अस्पतालका संचालक तथा सेयरधनीरुलाई धन्यवाद तथा कृतज्ञता ज्ञापन गरे ।
सम्बोधनका क्रममा अध्यक्ष डा.श्रेष्ठले आफुले पाएको जिम्मेवारीलाई ध्यानमा राखेर अपतालमा संस्थागत सुशासन कायम गर्न सबैको साथ सहयोग अपरिहार्य रहेको जिकिर गरे । उनले बोर्डले समय सापेक्ष तथा विश्वस्तरमा अस्पताल संचालन गर्ने र उच्च स्तरिय उपचार सेवालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । विशेषज्ञ चिकित्सक, नर्सिङ स्टाफलगायत सम्पूर्ण प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुको साथमा आगामी दिनमा अस्पताललाई नयाँ ढङ्गबाट अगाडि लैजाने र पूर्ववत नेपालको पहिलो रोजाइको सेवा प्रदायक बनाउने प्रण समेत श्रेष्ठले गरे ।