काठमाण्डौ । उछालको गतिमा दौडिरहेको सेयर बजारमा सोमबार एउटा ऐतिहासिक रेकर्ड बनेको छ ।
नेपाल स्टक एक्सचेञ्जको इतिहासमै सबैभन्दा धेरैवटा कारोबार भएको दिनको रुपमा साउन १४ गते सोमबारले रेकर्ड बनाएको हो ।
यो दिन कुल २ लाख २२ हजार ६६० वटा सेयर कारोबार भएका छन् । यो दिन ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता सेयरको कारोबार भएको हो ।
यसअघि साउन ९ गते नेप्सेमा १ लाख ८८ हजार ८६५ वटा सेयर कारोबार भएका थिए । यो दिन ३ करोड ६६ लाख ११ हजार ८३४ कित्ता सेयरको किनबेच भएको थियो ।
सम्भवतः एकैदिन ४ करोड ७७ लाख ९० हजार बढी कित्ताको सेयर कारोबारको नयाँ रेकर्ड समेत सोमबार नै बनेको छ ।
पछिल्लो समय सेयर बजार रकेटको गतिमा बढिरहेको छ । कतिपयले करेक्सन आउँदै बढेको बजार बलियो हुने बताइरहेका बेला केहीले चाहिँ यसपटक नेप्से परिसूचक ३००० विन्दू पुगेर मात्र करेक्सनको दिशा समात्ने भविष्यवाणी गरिरहेका छन् ।