काठमाण्डौ । बुधबार सेयर बजारमा दुईवटा नयाँ रेकर्ड बनेका छन् ।
यो दिन दैनिक कारोबार मूल्य अलटाइम हाईमा पुगेको छ भने दैनिक हुने कारोबारको संख्या तथा कारोबार भएका सेयरको संख्या समेत अलटाईम हाईमा पुगेको हो ।
बुधबार सेयर बजारमा २१ अर्ब ९१ करोड १५ लाखको अलटाइम हाई कारोबारको रेकर्ड बनेको हो । यसअघि सन् २०२१ जुलाई १५ का दिन २१ अर्ब ६४ करोड ७६ लाखको अलटाइम हाईको रेकर्ड बनेको थियो । यसरी हेर्दा ३ वर्षपछि नेप्सेले दैनिक कारोबार रकमको पुरानो रेकर्डलाई तोड्दै नयाँ इतिहास रचेको छ ।
६४.२५ अंकले बढेर २७६०.९० को उचाईमा पुगेको नेप्सेमा बुधबार २ लाख ३८ हजार २७२ वटा कारोबार भएका छन् । यो पनि दैनिक कारोबार संख्यामा अलटाइम हाईको रेकर्ड हो ।
यस्तै, यो दिन ३३२ कम्पनीका ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता सेयर किनबेच भएको छ । यो पनि अलटाइम हाई नै हो ।