काठमाण्डौ । मंगलबार उच्च अंकले करेक्सन भएको बजारमा तीनवटा नयाँ रेकर्ड बनेका छन् ।
बजार घट्दा समेत नेप्सेमा भने तीनवटा पोजिटिभ रेकर्ड बनेका हुन् ।
यो दिन बजारमा सबैभन्दा धेरै कारोबारको नयाँ रेकर्ड बनेको छ। कुल २३ अर्ब ७१ करोड ६७ लाख बढीको कारोबार भएको छ । नेप्सेको इतिहासमा एउटै कारोबार दिन यति धेरै भोल्युममा यसअघि कहिल्यै कारोबार भएको थिएन ।
केही दिनअघि करिब २२ अर्बको कारोबारको नयाँ रेकर्ड बनेको थियो । त्यसलाई समेत ब्रेक गरी मंगलबार बजारले कारोबारको नयाँ इतिहास रचेको हो ।
यस्तै, यो दिन हालसम्मकै धेरैवटा कारोबार भएको रेकर्ड समेत बनेको छ । २ लाख ७१ हजार ५८७ वटा कारोबार भएका छन् । यो पनि हालसम्मकै उच्च कारोबार संख्या हो ।
यसैगरी, यो दिन कुल ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता कारोबार भएको छ । यो पनि नयाँ रेकर्ड हो । यसअघि नेप्सेमा कुनै पनि दिन यति धेरै कित्ताहरुको कारोबार भएको थिएन ।