काठमाण्डौ। नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले डिजिटल भुक्तानी सेवाहरूका लागि भ्याट छुट हटाइदिएका कारण डिजिटल कारोबार महँगो भएको बताएकी छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद गौतमले नेपाल क्लियरिङ हाउस, फोनपे, इसेवा, खल्तीलगायत डिजिटल सेवा प्रदायकहरूलाई सरकारले भ्याट छुटको दायराबाट हटाउँदा सेवाग्राहीमाथि भार परेको बताएकी हुन्।
‘नेपाल क्लियरिङ हाउसले अब प्रत्येक लेनदेनमा अधिकतम ८ रुपैयाँ शुल्क साथै १३ प्रतिशत भ्याट लगाइरहेको छ,’ उनले भनिन्, ‘जसले बैंकहरू र उपभोक्ताहरूको लागि लागत बढाउँदैछ। डिजिटल सेवा प्रदायकबाट हुने कारोबारमा अतिरिक्त शुल्क लाग्ने गरेको छ।’
पहिले निस्शुल्क हुने कारोबारमा अहिले पैसा लाग्दा सेवाग्राहीमाथि भार थपिएको उनको भनाइ छ।
सरकारले चालु आर्थिक वर्षका लागि गत १५ जेठमा संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमा क्लियरिङ हाउसलाई भ्याट छुट पाउने सूचीबाट हटाउको थियो।
त्यससँगै क्लियरिङ तथा सेटलमेन्टका कार्य गर्ने नेपाल क्लियरिङ हाउस तथा फोन पे जस्ता भुक्तानी प्रणाली सञ्चालकहरू भ्याटमा दर्ता भएका छन्।