काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ। मधेश प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा समेत भैरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
सबै प्रदेशरूका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान विभागले आग्रह गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।