काठमाण्डौ । आज कुशे औंसी, हिन्दू धर्माबलम्बीहरुले वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।
अाज बिहान सबेरै उठेर नुहाई पुरोहितहरुले जमानहरुका घरमा कुश पुर्याइदिने प्रचलन छ । कुश लैजाने पुरोहित वा ब्राह्मणलाई यजमानले सिदा र दक्षिणा दान दिने प्रचलन पनि छ । हिन्दूहरु कुशमा भगवान विष्णुको बास रहेको विश्वास गर्ने गर्छन् । कुशलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भगवान विष्णुका रूपमा पूजा गरिन्छ ।
कुशे औंसी पर्वलाई बुवाको मुख हेर्ने पर्वको रुपमा पनि मनाउने गरिन्छ । आजका दिन छोराछोरीहरुले आफ्ना बुवालाई मीठो भोजन गराउने तथा आशिर्वाद लिने चलन रहेको छ । छोराछोरीले आफ्ना बुवालाई मनपर्ने खानेकुरा, फलफूल, मिठाई खुवाएर तथा कपडा उपहार दिएर सम्मान र आदर गर्ने गर्छन् । बुवाबाट आशिर्वाद प्राप्त गरेमा सुख शान्ति मिल्ने विश्वाससाथ घरबाट टाढा रहेका छोराछोरीले समय निकालेर घरमा पुगी बाबुलाई मनपर्ने खानेकुरा खुवाउने र उपहार दिने गर्छन् ।
पिता गुमाएकाहरूले भने उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ । त्यस्तै, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा आजकै दिन पितृप्रति सम्मानका साथ श्राद्ध गर्ने गरिन्छ । यसो गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता छ ।
काठमाण्डौको गोकर्ण लगायतका तीर्थस्थलहरुमा समेत पितृ तर्पण गर्नेहरुको आज बिहानैदेखि भीड लाग्ने गर्छ ।