काठमाण्डौ । महालक्ष्मी विकास बैंक र आध्यन्त फण्ड म्यानेजमेन्टबीच साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच तथा लगानीको आधार निर्माण गर्ने सम्बन्धमा एक रणनितिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौताअनुसार कृषि, कृषि आपुर्ती, कृषि प्रशोधन, पर्यटन, उत्पादन, डिजिटल सेवा, हस्तकला र अन्य उत्पादनशील तथा निर्यात क्षेत्रमा रहेका साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच अभिवृद्धि तथा लगानीको आधार निर्माण गर्दै प्रतिस्पर्धात्मक क्षमताको विकास तथा आर्थिक प्रतिकुलताको समयमा पनि सञ्चालन सक्षमताको विकास गर्न एक आपसमा साझेदरी गर्ने सम्बन्धमा सहमति भएको हो ।
यस अन्तर्गत आध्यन्त फण्ड म्यानेजमेन्टले साना तथा मझौला उद्यमहरुको वित्तीय लगानी, बजार विस्तार, व्यवसायिक विकास, वित्तीय व्यवस्थापन, व्यवसाय रणनितिको निर्माण, अनुपालना तथा सञ्चालन दक्षता वृद्धि गर्न प्राविधिक सहयोग गर्नेछ ।
यस्तै महालक्ष्मी विकास बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा बैंकको नीतिबमोजिम साना तथा मझौला उद्यमहरुको पूँँजीको पहुँचलाई सहज बनाउन वित्तीय सेवा, प्रतितपत्र, विदेशी विनिमय व्यवस्थापन जस्ता सेवाहरु प्रदान गर्नेछ । यसबाट देशको दीर्घकालीन आर्थिक वृद्धिमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।
महालक्ष्मी विकास बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।