काठमाण्डौ । अविरल वर्षासँगै आएको पहिरोका कारण नौबिसे–काठमाण्डौ सडक अवरुद्ध भएको छ । लेदोसहित खसेको पहिरोका कारण सुरुङमार्ग नजिकै रहेको खडकखण्डमा अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि काठमाण्डौ आवतजावत गर्ने सवारी साधन सडकमै रोकिएका छन् । निरन्तर वर्षा भईरहेकाले पहिरो हटाउने काम सुरु गर्न नसकिएको प्रहरीले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले बिहिबारदेखि आइतबार बिहानसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ । महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई रेडअलर्टमा समेत राखेको छ ।
रेडअलर्ट जारी भएका जिल्लामा रात्रिकालीन बस चलाउन रोक लगाउने निर्णय सरकारले यसअघि नै गरेको थियो। महाशाखाका अनुसार बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा र त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि आइतबार बिहानसम्म अधिकांश स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।