काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य १.०५ प्रतिशत अर्थात प्रतिऔंस २८ डलरले घटेको हो ।
यो गिरावटसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६३५ डलर कायम भएको छ ।
अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोमी पावेलले हालै एक कार्यक्रममा यो वर्षका लागि बाँकी रहेका २ वटा मौद्रिक नीतिसम्बन्धी बैठकमा ५० बेसिक प्वइ न्ट ब्याजदर कटौतीको सम्भावना नकारेसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेको हो ।
यस्तै अमेरिकी डलरको मूल्य वृद्धि भएकाले पनि सुनको मूल्यमा गिरावट आएको देखिएको छ । गत साता सुनको मूल्य अहिलेसम्मकै उच्च अर्थात प्रतिऔंस २६८५ डलर पुगेको थियो । तर त्यसयता भने सुनको मूल्य २ प्रतिशतभन्दा बढीले घटिसकेको छ । सेप्टेम्बर महिनामा सुनको मूल्य ५.४० प्रतिशतले बढेको थियो । जुन यो वर्षको मार्च महिना पछिकै उच्च वृद्धि हो ।
सुनको मूल्य सँगै आज चाँदीको मूल्य पनि घटेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य १.४२ प्रतिशत अर्थात प्रतिऔंस ०.४६ डलरले घटेको छ । यससँगै चाँदीको मूल्य प्रतिऔंस ३१.३१ डलर कायम भएको छ ।