काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २७ सय डलरभन्दा बढी पुगेको छ । यससँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्यले लगातार चौथो दिन नयाँ उचाई चुमेको छ ।
आज सुनको मूल्य प्रतिऔंस १.३२ प्रतिशत अर्थात ३५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७०९ डलर कायम भएको छ ।
विश्वका प्रमुख केन्द्रीय बैंकहरुले ब्याजदरमा कर्टाती गर्न सक्ने आँकलन,मध्य–पूर्वी एशियामा बढ्दो तनाव र अमेरिकी राष्ट्रपति निर्वाचन समेत नजिकिएसँगै सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । बिहिबार युरोपेली केन्द्रीय बैंकले वर्षको तेस्रोपटक ब्याजदर घटाउने निर्णय गरेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतिऔंस ०.२२ डलरले बढेर ३१.९६ डलर कायम भएको छ ।