काठमाण्डौ । राधि विद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
लाभांश पारित गर्नका लागि कम्पनीले साधारण सभा समेत डाकेको छ । कम्पनीको साधारण सभा आगामी पुस १८ गते ललितपुरमा रहेको दरबार रेष्ट्रो एण्ड पार्टी भेन्यूमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
उक्त सभामा लाभांशको विशेष प्रस्ताव पारित हुनुका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा सैशोधन गर्ने र उक्त कार्यका लागि नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेृ प्रस्ताव समेत पारित हुनेछ ।
यस्तै, सञ्चालक समितिको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात तथा आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने,आव २०८१/८२ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यसर्थ पुस ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।